बासभ

बासभ

@naharchowck

ImmunotherapyMolecular BiologyOccasional WriterOccasional Photographer

Stories from history, science, and the in-between.

Still in search of sleep, sanity and the Shire.

A cage went in search of a bird.Kafka

दुई नदीको बीचमा

Written by बासभ
New pieces by email, Nepali and English.Subscribe

वर्षा, पहाड र मिथकले कसरी मानव सभ्यतालाई जन्म दिए

दुई नदीको बीचमा — प्राचीन मेसोपोटामिया र सुमेरी सभ्यताको उदय

आधुनिक टर्कीको पूर्वी उच्च भेगमा चुनढुङ्गा र बेसाल्ट चट्टानको एउटा खस्रो र अग्लो पहाडी पर्खाल उभिएको छ, जसले एनाटोलियाका उपत्यकाहरूलाई मेसोपोटामिया (Mesopotamia) का समथर फाँटहरूबाट अलग गर्छ। सहस्राब्दियौँदेखि तीन हजार मिटरभन्दा अग्ला यी शिखरहरूले पूर्वमा एसिया र दक्षिणमा हिन्द महासागरतिरबाट बग्दै आउने वर्षे बादलहरूलाई छेकेर राख्दै आएका छन्।

ती अग्ला पहाडहरू नाघ्न नसकेपछि बादलहरू पर्वत शृङ्खलाका खोँच र उपत्यकाहरूभित्रै रुमलिन पुग्छन्। दक्षिणको मरुभूमिबाट उठेर आउने तातो हावा जब ती बादलसँग ठोक्किन्छ, बादल अझै बाक्लिन्छ र विशेष गरी वसन्त तथा ग्रीष्म ऋतुमा मेघगर्जनसहित असामान्य रूपमा मुसलधारे वर्षा हुन्छ।

छोटकरीमा

  • टोरस पर्वत शृङ्खलाले वर्षे बादल छेकेर टिग्रिस र युफ्रेटिस नदीलाई जन्म दियो, जसले दक्षिणी इराकको उजाड मरुभूमिलाई उर्वर पाँगो माटोको फाँटमा बदल्यो।
  • स.पू. ११,००० तिर उत्तरी पहाडी फेदीका सिकारी–सङ्कलकहरूले खेतीपाती सुरु गरे, गोबेक्ली तेपेजस्ता भव्य संरचना बनाए र पछि उबैद काल (स.पू. ६,५००–५,५००) मा दक्षिणतिर बसाइँ सरे।
  • हिमयुगको अन्त्यपछि समुद्री सतह १२० मिटर बढ्दा फारसको खाडीको उर्वर उपत्यका डुब्यो र महाबाढीबाट विस्थापित सुमेरीहरू उत्तरतिर दक्षिणी मेसोपोटामियामा आइपुगे।
  • सेमिटिक भाषी अक्कादियनहरूसँगै मिलेर बसेका सुमेरीहरूले सिँचाइ नहरको सञ्जाल बनाए, स.पू. ५,४०० तिर एरिदु सहर बसाले र मानव इतिहासको पहिलो सहरी सभ्यताको जग हाले।

आकाश थुन्ने पहाडहरू

फर्टाइल क्रेसेन्टको उत्तरी सीमामा फैलिएको टोरस पर्वत शृङ्खला
सहस्राब्दियौँसम्म वर्षे बादल थुनेर टोरस पर्वत शृङ्खलाले फर्टाइल क्रेसेन्टको हरियाली अर्धचन्द्राकार क्षेत्रलाई सिँचित गर्‍यो।

सहर बन्नुअघि, राजाहरू जन्मनुअघि, यहाँसम्म कि खेतीपाती सुरु हुनुअघि नै टोरस पर्वत शृङ्खला (Taurus Mountains) ले मानव जातिको नियति कोरिदिएको थियो। भूगोलको एउटा सानो संयोग—पहाडले बादल छेकिदिनु—ले सारा इतिहासकै मोड बदलिदियो। हजारौँ वर्षसम्म टोरस पहाडले थुनेको यही वर्षाले रुखो र कठोर भूभागको बीचमा एउटा हरियो अर्धचन्द्राकार पेटी सिर्जना गर्‍यो, जसलाई इतिहासकारहरूले 'फर्टाइल क्रेसेन्ट' (Fertile Crescent) अर्थात् उर्वर अर्धचन्द्राकार क्षेत्र भन्छन्।

चट्टान र पानीले कुँदेको यही हरियाली भूमिमा मानिसले सभ्यतातिरको पहिलो पाइला चाल्यो। हाम्रा प्रत्यक्ष पुर्खाहरूले यहाँ घर बसाउनुभन्दा दसौँ हजार वर्षअघि नै यी उपत्यकाहरूमा आदिम मानवहरूको चहलपहल थियो। पुरातात्त्विक प्रमाणहरूले देखाउँछन् कि झन्डै पाँच लाख वर्षअघि नै होमो इरेक्टस (Homo erectus) यी डाँडाकाँडामा विचरण गर्थे। सिकार, सफा पानी र उर्वर माटोको आकर्षणले पछि हाम्रा प्रत्यक्ष पुर्खा होमो सेपियन्स (Homo sapiens) पनि यही बाटो हुँदै आइपुगे।

आँधीका देवता, साँढे र मेघगर्जनको वर्षा (स.पू. ११,००० अघि)

पहाडमा पर्ने त्यो असामान्य वर्षाले भूमिगत ताल र साना मूलहरू सिर्जना गर्‍यो, जुन पछि मिलेर खोलानाला बने। भूगर्भीय समयक्रममा यी उच्च पहाडबाट बग्दै गएका नदीहरूले गहिरा गल्छीहरू खने, चुनढुङ्गाका चट्टान खिइयाए र विशाल परिमाणमा मसिनो पाँगो माटो दक्षिणतिर बगाएर लगे। पाँगो मिसिएको माटोले चिस्यान राम्ररी थाम्छ र हावा पनि सहजै ओहोरदोहोर गर्न दिन्छ—जुन प्रायः सबै बालीनालीका लागि आदर्श वातावरण हो।

उत्तरपूर्वका हिउँले ढाकिएका ककेसस पर्वत (Caucasus Mountains) बाट बग्ने हिमनदीहरूको पानीसमेत मिसिएपछि दुई महान् पौराणिक नदीहरूको जन्म भयो—टिग्रिस (Tigris) र युफ्रेटिस (Euphrates)। यी नदीका बाढीमैदानहरू दक्षिणको जीवनरेखा बने, जुन क्षेत्र अन्यथा एउटा निर्जन र कठोर मरुभूमि मात्र हुने थियो। ऋतु–ऋतुमा नदीहरूले भूबनोटलाई आकार दिँदै गए, समथर फाँटभरि उर्वर पाँगो माटो बिछ्याए र भविष्यमा मेसोपोटामिया भनिने उर्वर खेतीयोग्य भूमिको निर्माण गरे।

पानीले केवल धर्तीको नक्सा मात्र बदलेन, यहाँका आदिम बासिन्दाहरूको आस्था र विश्वासलाई पनि आकार दियो। 'टोरस' (Taurus) शब्द ल्याटिन भाषामा 'साँढे' बाट आएको हो—जुन यस क्षेत्रभरि उत्खननमा भेटिएका माटाका साँढेका मूर्तिहरूसँग मेल खान्छ। प्रारम्भिक सिकारी–सङ्कलकहरू आँधीका देवता 'तेशुब' (Teshub) को पूजा गर्थे। उनीहरूको विश्वास थियो कि तेशुब एउटा विशाल साँढेमा सवार भएर आकाशमा गर्जँदै हिँड्छन्। ग्रीष्म ऋतुमा पहाडी खोँचहरूमा गुन्जिने मेघगर्जन सायद उनीहरूलाई आकाशमा साँढेको टाप दौडिएझैँ लाग्दो हो—एक किसिमको दैवी सङ्केत, जसले वर्षालाई वरदान र विपत्ति दुवैका रूपमा सम्झाइरहन्थ्यो।

सिकारी–सङ्कलकदेखि पहिलो किसानसम्म (स.पू. ११,०००–६,५००)

प्रागैतिहासिक कालको अधिकांश समय मानिसहरू सिकार गरेर र जङ्गली फलफूल बटुलेर बाँचे। मौसम र जनावरका बथान जता सर्थे, उनीहरू पनि उतै बसाइँ सर्थे। प्रारम्भिक नवपाषाण युगका सिकारी–सङ्कलकहरू उत्तरी पहाडका फेदीमै बस्न रुचाउँथे, जहाँ हावापानी सन्तुलित थियो, वर्षा प्रशस्त हुन्थ्यो र प्राकृतिक स्रोतसाधनको कुनै कमी थिएन।

तर स.पू. ११,००० तिर आइपुग्दा परिस्थितिले कोल्टे फेर्न थाल्यो। टर्कीको उच्च भेगको कतैतिर सिकारी–सङ्कलकहरूले एउटा अनौठो कुरा याद गरे—उनीहरूले खाएर फालेका जङ्गली अन्नका बीउहरू फोहोरको थुप्रोमै उम्रिरहेका थिए। समयसँगै उनीहरूले बुझे कि बीउ माटोमा पुरेर, पानी हालेर र स्याहारसुसार गरेर चाहेअनुसारकै अन्न फलाउन सकिने रहेछ। यो एउटा सामान्यजस्तो देखिने खोजले मानव इतिहासको सम्पूर्ण दिशा नै सधैँका लागि बदलिदियो।

दक्षिणपूर्वी टर्कीमा रहेको गोबेक्ली तेपेका विशाल ढुङ्गे स्तम्भहरू
स.पू. ९,६०० तिर निर्माण गरिएको गोबेक्ली तेपे—इजिप्टका पिरामिड र स्टोनहेन्जभन्दा हजारौँ वर्ष पुरानो मन्दिर परिसर।

हिजोसम्म मौसम र जनावरको पछिपछि भौँतारिने परिवारहरूले अब आफ्नै खेतबारीको छेउमा स्थायी घर बनाउन थाले। गाउँहरू बसे, हिउँदका लागि अन्न जोगाउन भकारीहरू बने, माटो मुछेर भाँडाकुँडा बनाइयो र सामूहिक पूजाआजा सुरु भयो। यही क्रममा भव्य मन्दिरहरू पनि ठडिन थाले। हालै उत्खनन गरिएको स.पू. ९,६०० तिरको 'गोबेक्ली तेपे' (Göbekli Tepe) ले ती प्रारम्भिक कृषक समुदायहरूको उन्नत शिल्प र सङ्गठन क्षमता देखाउँछ। यो संरचना सुमेरीहरू दक्षिणी इराक पुग्नुभन्दा करिब ४,००० वर्षअघि, बेलायतको स्टोनहेन्ज (Stonehenge) का पहिलो ढुङ्गा गाडिनुभन्दा झन्डै ६,००० वर्षअघि र इजिप्टका पहिलो पिरामिडहरू बन्नुभन्दा ७,००० वर्षभन्दा पनि पहिले निर्माण भएको थियो।

जीवन दिने दुई नदी

टिग्रिस र युफ्रेटिसको विशाल बाढीमैदानलाई आज हामी इराक भनेर चिन्छौँ—जसलाई अरबी भाषामा 'बिलाद अल–राफिदैन' (Bilad al-Rafidayn) अर्थात् 'दुई नदीको देश' भनिन्छ। तर प्राचीन कालको यो भूमि र यहाँका बासिन्दालाई हामी प्रायः ग्रिक नाम 'मेसोपोटामिया' ले चिन्छौँ; जहाँ 'मेसोस' को अर्थ 'बीचमा' र 'पोटामोस' को अर्थ 'नदी' हुन्छ। हजारौँ वर्षसम्म यी दुई महान् नदीहरूले टोरस पहाडबाट पाँगो माटो बगाएर ल्याए, जसले सुक्खा मरुभूमिको रूप मात्र फेरेन, मानव इतिहासको यात्रालाई नै नयाँ मोड दियो।

कागजमा हेर्दा तातो र सुक्खा दक्षिणी मेसोपोटामिया सायद पृथ्वीकै अन्तिम ठाउँ हो, जहाँ कोही सभ्यताको जन्म होला भनेर कल्पना गरोस्। दुई नदी र तिनको दक्षिणी डेल्टाले बनाएको हरियो पेटीबाहेक दक्षिणी इराक पूरै रुखो र निर्जन मरुभूमि हो। यहाँ प्राकृतिक स्रोतसाधन लगभग शून्य छ—न रूखबिरुवा छन्, न ढुङ्गा, न त कुनै खनिज नै। गर्मी असह्य हुन्छ, हावाहुरी उग्र चल्छ र पानी बिरलै पर्छ।

नदीहरूको बहाव पहाडको वर्षा र हिउँ पग्लने क्रममा निर्भर हुने भएकाले बाढीको बाटो र समय सधैँ अनिश्चित हुन्थ्यो। कैयौँ वर्षको मुसलधारे वर्षापछि लामो खडेरी पथ्र्यो। त्यसैले प्रारम्भिक किसानहरू उत्तरी पहाडकै फेदीमा बस्न रुचाउँथे, जहाँ वर्षा भरपर्दो थियो र स्रोतसाधन सहजै पाइन्थे। यसरी सुमेरी र अक्कादियनहरूले आफ्नो घर बनाउनुअघि दक्षिणी मेसोपोटामिया केवल माटो र पाँगोको एउटा सुनसान फाँट मात्र थियो।

दक्षिणतिरको बसाइँसराइ: उबैद काल (स.पू. ६,५००–५,५००)

कैयौँ सहस्राब्दीसम्म खेतीपाती मुख्यतः पहाडी भेगमै सीमित रह्यो। तर पहाडको फेदीमा हजारौँ वर्ष बिताएपछि जनसङ्ख्या र कृषि ज्ञान दुवै बढ्दै गयो। अनि मानिसहरू नयाँ खेतीयोग्य जमिनको खोजीमा बाहिरिन थाले।

त्यही अवधिमा टिग्रिस र युफ्रेटिसका बाढीमैदानहरूले दक्षिणी इराकको बाँझो मरुभूमिलाई उर्वर खेतमा बदलिसकेका थिए। स.पू. ६,५०० तिर प्रारम्भिक अन्वेषकहरूको एउटा समूह यही विशाल उर्वर मैदानको आकर्षणमा दक्षिणतिर झर्‍यो। स.पू. ६,५०० देखि ५,५०० सम्मको यो कालखण्डलाई हामी 'उबैद काल' (Ubaid period) भन्छौँ—यो नाम सबैभन्दा पहिले यिनीहरूका पुरातात्त्विक अवशेष भेटिएको 'टेल अल–उबैद' नामक स्थानबाट राखिएको हो।

यी नयाँ बासिन्दाहरूले अपरिचित र कठोर वातावरणमा अद्भुत सिर्जनशीलता देखाए। काठ र रूख नभएको ठाउँमा उनीहरूले दक्षिणी सिमसारका नर्कटहरू बाँधेर घर बनाए। नदीको अस्थिर बाढीलाई काबुमा राख्न र उपयुक्त खेतसम्म पानी पुर्‍याउन उनीहरूले बाँध बाँधे र मानव इतिहासकै सुरुवाती सिँचाइ नहरहरू खने। यसरी तयार पारेको खेतमा उनीहरूले गहुँ, कोदो, तिल र राई (rye) जस्ता बाली फलाए।

करिब स.पू. ६,००० का उबैद कालीन माटाका मूर्तिहरू
उबैद कालीन माटाका मूर्तिहरू (करिब स.पू. ६,०००)—दक्षिणी मेसोपोटामियामा बस्ती बसाल्ने प्रारम्भिक किसानहरूका अवशेष।

दक्षिणतिर झर्दै जाँदा उनीहरूले नदीकिनारमा ठूला पात र गुलियो फल लाग्ने खजुरका रूखहरू देखे। ती रूखले दिने शीतल छहारीबाट लोभिएर उनीहरूले आफ्नै बगैँचामा खजुर रोप्न सिके र तिनकै छहारीमुनि अनार र अन्जिरजस्ता फलफूल हुर्काए। उनीहरूले कुमालेको चक्र (potter's wheel) को विकास गरे र माटाका सुन्दर भाँडाकुँडा बनाउने कला सिके।

तर यी उबैद मानिसहरू खासमा को थिए, कुन भाषा बोल्थे, कस्तो धर्म मान्थे वा आफूलाई के भन्थे भन्ने कुरा आज पनि रहस्यकै गर्भमा छ। पछि उत्तरतिर उदाएका सेमिटिक भाषी अक्कादियन (Akkadians) हरूका प्रत्यक्ष पुर्खा यिनै थिए कि थिएनन् भन्ने प्रश्नको उत्तर पनि अझै भेटिएको छैन।

त्यहाँका दुई महान् नदीहरूजस्तै छिट्टै दुई फरक समुदायहरूले यो दोआब भूमिमा आ–आफ्नो स्थान बनाए। उत्तरतिर सेमिटिक भाषा बोल्ने अक्कादियनहरू थिए, जसले उबैद जीवनशैलीलाई निरन्तरता दिए। दक्षिणतिर समुद्रतटको नजिकै भने अझै रहस्यमय समुदाय बस्थ्यो—सुमेरीहरू (Sumerians)।

एक–अर्कासँग घुलमिल हुँदै र समानान्तर रूपमा बाँच्दै यी दुई समुदायले आजको दक्षिणी इराकमा मानव इतिहासकै पहिलो वास्तविक सभ्यता निर्माण गरे—यस्तो सभ्यता, जुन स.पू. ५,४०० तिर सुरु भएर स.पू. १,७५० मा पूर्ण पतन नहुन्जेल झन्डै साढे तीन हजार वर्षसम्म अचम्मलाग्दो ढङ्गले टिकिरह्यो।

महाबाढीबाट उत्तरतिर भागेका मानिसहरू

सुमेरीहरूको ऐतिहासिक स्मृति एउटा प्रलयकारी घटनाको छायामा बाँचेको थियो। सुमेरी किंवदन्तीअनुसार उनीहरूका पुर्खाहरू एउटा विनाशकारी महाबाढीबाट ज्यान जोगाएर भागेका थिए, जसले उनीहरूको सम्पूर्ण मातृभूमिलाई नै निलिदिएको थियो। यो 'महाबाढी' (Great Flood) को कथा सायद मानव इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर भनिँदै आएको कथा हो—जसको प्रतिध्वनि पछि बेबिलोनियाली महाकाव्य, हिब्रु धर्मग्रन्थ र ग्रिक मिथकहरूमा समेत भेटिन्छ।

आज टिग्रिस र युफ्रेटिस नदीहरू टोरस पर्वतबाट करिब दुई हजार किलोमिटर बगेर दक्षिणी इराकको फारसको खाडी (Persian Gulf) मा मिसिन्छन्। तर करिब स.पू. १०,००० तिर अन्तिम हिमयुगको चरम अवस्था—अर्थात् 'लास्ट ग्लेसियल म्याक्सिमम' (Last Glacial Maximum)—सकिनुअघि यी दुई नदी आजको जस्तो दक्षिणी इराकमै टुङ्गिँदैनथे। बरु दक्षिणी इराकमा आपसमा मिसिएर एउटै विशाल नदी बन्थे र आज फारसको खाडी रहेको भूमि हुँदै थप छ सय किलोमिटर बगेर आधुनिक दुबईनजिकै हिन्द महासागरमा पुग्थे।

स.पू. १२,००० तिर फारसको खाडीमा रहेको होचो नदी उपत्यकाको नक्सा
हिमयुगपछिको समुद्रले निल्नुअघि फारसको खाडीको पिँधमा फैलिएको होचो उर्वर उपत्यका (करिब स.पू. १२,०००)।

त्यो विशाल नदीले इरान र साउदी अरबको बीचमा एउटा उर्वर बाढीमैदान सिर्जना गरेको हुनुपर्छ—एउटा होचो उपत्यका, जुन आज फारसको खाडीमुनि डुबिसकेको छ। प्रागैतिहासिक कालमा इरानी पहाडहरूबाट तल झरेको नवपाषाण युगको एउटा मानव समूहले यही होचो उपत्यकालाई आफ्नो घर बनाएको हुन सक्छ, जहाँ उनीहरू फर्टाइल क्रेसेन्टका अन्य बासिन्दाहरूबाट पूर्णतः अलगथलग भएर हजारौँ वर्षसम्म बाँचे।

हिमयुग सकिएपछि विश्वको तापक्रम ४ देखि ७ डिग्री सेल्सियससम्म बढ्यो। स.पू. १०,००० देखि ५,००० को बीचमा हिमनदी र बरफका चाङहरू पग्लिए, जसका कारण विश्वभर समुद्री सतह अचम्मलाग्दो रूपमा १२० मिटरसम्म माथि उक्लियो। यही त्यो समय थियो, जब बेलायतलाई युरोपसँग र अलास्कालाई साइबेरियासँग जोड्ने स्थलपुलहरू बढ्दो समुद्रमुनि पुरिए।

सुरुमा समुद्र बिस्तारै बढ्यो, तर स.पू. ५,००० तिर आजको सतहमा आइपुग्दासम्म यसले विश्वभरका विशाल भूभागहरू निलिसकेको थियो। आजको फारसको खाडीको होचो उपत्यकामा बसिरहेका मानिसहरूका लागि यो बढ्दो समुद्र साक्षात् प्रलय थियो। पाँच हजार वर्षसम्म समुद्रले अविश्वसनीय गतिमा जमिन निल्दै गयो—हरेक तीन दिनमा करिब एक मिटर, वर्षमा झन्डै १२० मिटर र हरेक दस वर्षमा पूरै एक किलोमिटर!

यदि त्यस उपत्यकामा मानिसहरू बसोबास गर्थे भने त्यो अनुभव अत्यन्तै भयावह र असहाय बनाउने खालको हुँदो हो। आउँदा शताब्दीहरूमा बढ्दै गएका छालहरूले उनीहरूका जङ्गल, खेत र बस्तीहरू डुबाउँदै लग्दा उनीहरू भित्रतिर, उत्तरतर्फ बसाइँ सर्न बाध्य भए। खुम्चिँदै गएको किनारामा जनसङ्ख्या झन् बाक्लिँदै गयो र समुद्रले अर्को पाइला चाल्नुअघि नै उनीहरू बारम्बार नयाँ ठाउँमा सर्न र परिस्थितिअनुसार आफूलाई ढाल्न विवश भए।

विश्वको तापक्रम स्थिर नभएसम्म र स.पू. ५,५००–५,००० तिर समुद्री तट आफ्नो सबैभन्दा उत्तरी सीमामा नपुगेसम्म यो लामो विस्थापन र उत्तरतिरको यात्रा निरन्तर चलिरह्यो।

सुमेरी पहेली: अनौठो भाषा बोल्ने अपरिचितहरू

स.पू. ५,५०० देखि ५,००० को बीचमा सुमेरीहरू दक्षिणी इराकमा आइपुगे। उनीहरूसँग पुर्खाको सारा संसार निलिदिने महाबाढीका कथा थिए। अनि उनीहरूले आफूसँग एउटा यस्तो अनौठो भाषा पनि लिएर आए, जसलाई पुरातत्त्वविद्हरूले लामो समयदेखि 'सुमेरी समस्या' (Sumerian Problem) भन्ने गरेका छन्।

अक्कादियन, बेबिलोनियाली वा पछि आएको अरामाइकजस्ता सेमिटिक परिवारका भाषाहरूभन्दा विपरीत, सुमेरी भाषालाई भाषाविद्हरू 'एकल भाषा' (language isolate) भन्छन्। पृथ्वीमा चिनिएको अरू कुनै पनि भाषासँग यसको कुनै नाता वा सम्बन्ध भेटिँदैन। सुमेरीहरू यति लामो समयसम्म अलगथलग भएर बाँचे कि उनीहरूले उत्तरका सेमिटिक भाषीहरूभन्दा नितान्त भिन्न आफ्नै भाषा विकास गरे। सुरुवाती विद्वान्हरूले जब सुमेरी भाषामा लेखिएका क्युनिफर्म (cuneiform) का माटाका पाटीहरू फेला पारे, उनीहरूले पहिले त यसलाई बेबिलोनियालीहरूको कुनै गोप्य लिपि ठाने—पछि मात्र थाहा पाए कि उनीहरूले त त्योभन्दा धेरै पुरानो र पूर्णतः फरक भाषा र सभ्यता फेला पारेका रहेछन्।

दक्षिणी मेसोपोटामियाको तटीय सिमसारमा आइपुगेका प्राचीन सुमेरीहरूको कलात्मक चित्रण
समुद्री बाटोबाट आएका हुन् वा डुब्दै गएको खाडीबाट उत्तर सरेका हुन्—सुमेरीहरूले आफूसँगै पृथक् भाषा र गहिरो पौराणिक स्मृति लिएर आए।

कतिपयले त सुमेरीहरू भारतजस्ता टाढाका देशहरूबाट डुङ्गामा चढेर आएका हुन् भन्ने अनुमानसमेत गरेका छन्। एउटा सुमेरी मिथकअनुसार देवता एन्की (Enki) ले 'दिल्मुन' (Dilmun) नामक टाढाको स्वर्गभूमिमा मानव जातिको सृष्टि गरेका थिए, जसलाई आधुनिक बहराइनसँग जोडेर हेरिन्छ। पछि बेबिलोनियाली मिथकहरूमा 'ओआनेस' (Oannes) नामक जलचर देवताको चर्चा पाइन्छ, जो समुद्रबाट बाहिर निस्केर मानिसलाई सभ्यताका सारा कला र ज्ञान सिकाउँथे अनि फेरि पानीमै फर्कन्थे।

उनीहरू टाढाबाट डुङ्गा चढेर आए वा समुद्रमुनि डुबेको होचो उपत्यकाबाट हिँड्दै उत्तरतिर उक्लिए—यो कुरा अझै निश्चित छैन। तर यी मिथकहरूमा प्राचीन लेखकहरूले दक्षिणी इराकको समुद्री किनारमा सुमेरीहरूको आगमनको कुनै धुमिल स्मृति जोगाएर राखेका छन् भन्ने सम्भावना भने प्रबल छ।

करिब स.पू. ५,५०० तिर जब उत्तरका सेमिटिक भाषी समुदायहरू पहाडबाट झरेर दक्षिणी नदीकिनारतिर आइपुगे, उनीहरूको भेट दक्षिणबाट आउँदै गरेका महाबाढीपीडित सुमेरीहरूसँग भयो। ती नयाँ आगन्तुकहरूसँग आफ्नो संसार समुद्रले निलेको पीडादायी कथा मात्र थिएन, उन्नत संस्कृति र अद्भुत व्यावहारिक ज्ञान पनि थियो।

दुई महान् नदीहरूजस्तै यी दुई समुदाय पनि समानान्तर रूपमा बसे—उत्तरमा अक्कादियन र दक्षिणमा सुमेरी। सँगसँगै बस्दै, व्यापार गर्दै, विचार साटासाट गर्दै र सफलता–असफलता बाँड्दै उनीहरूले साढे तीन हजार वर्षभन्दा लामो सहजीवी सम्बन्ध कायम गरे, जसले मानव इतिहासको पहिलो सभ्यतालाई जन्म दियो।

सभ्यताको जन्म: पहिलो सुमेरी बस्तीहरू

सुमेरी परम्पराअनुसार राजतन्त्र सबैभन्दा पहिले आकाशबाट 'एरिदु' (Eridu) सहरमा ओर्लिएको थियो, जुन स.पू. ५,४०० तिर प्राचीन समुद्री किनारनजिकै स्थापना भएको थियो। आफ्नो उत्कर्षमा एरिदुमा झन्डै १०,००० मानिस बस्थे—त्यस युगका लागि यो असाधारण जनसङ्ख्या थियो।

उनीहरूको मूल उत्पत्तिका बारेमा धेरै कुरा अझै अस्पष्ट भए पनि सुमेरीहरू कस्ता थिए र कसरी जीवन बिताउँथे भन्नेबारे हामीलाई धेरै जानकारी छ। सुमेरीहरू संसारलाई तीतो समुद्रले घेरिएको एउटा गोलाकार भूभागका रूपमा कल्पना गर्थे, जसको मध्यभागमा नदी र वर्षाको मीठो पानी बग्थ्यो। उनीहरू आफ्नो मातृभूमिलाई कि–एन–गिर (Ki-en-gir) अर्थात् 'श्रेष्ठ स्वामीहरूको भूमि' भन्थे। आफ्नो सभ्य भूमिलाई उनीहरू 'कलाम' (Kalam) भन्थे भने त्यसभन्दा बाहिरको जङ्गली र असभ्य भूभागलाई 'कुर' (Kur) भनिन्थ्यो।

उनीहरू आफूलाई उङ साङ गिग गा (Uĝ saĝ gíg ga) अर्थात् 'कालो कपाल भएका मानिस' भन्थे, जसले उनीहरूलाई उत्तरी मैदानका अक्कादियनहरूबाट अलग चिनाउँथ्यो। प्राचीन मूर्ति र शिलाचित्रहरूबाट उनीहरूको पहिरनसमेत देख्न सकिन्छ। सामान्य स्त्री–पुरुषहरू भेडाको छालाको कछाड लगाउँथे र तामा तथा फलामका गहना पहिरिन्थे। धनीमानीहरू भने ऊनबाट बुनेका रङ्गीन वस्त्र लगाउँथे र सुनका गहनाले सजाउँथे। उनीहरू टाउकोको माथिल्लो भागमा घुँघरिलो कपाल राख्थे र दायाँ–बायाँको कपाल छोटो काट्थे।

उनीहरूले आफूसँगै सङ्गीतका बाजागाजा पनि लिएर आएका थिए—र अचम्मको कुरा, हामी आज पनि उनीहरूको सङ्गीत सुन्न सक्छौँ। अरू सबै कुराझैँ उनीहरूले आफ्नो सङ्गीतका धुन र बाजा मिलाउने तथा बजाउने निर्देशनहरू पनि माटाका पाटीमा लेखेर छोडेका थिए।

करिब स.पू. ३,१०० को प्राचीन सुमेरी क्युनिफर्म माटाको पाटी
सुमेरी क्युनिफर्म माटाको पाटी (करिब स.पू. ३,१००)—विश्वकै सबैभन्दा पुरानो लेखन परम्पराको एक नमुना।

प्राकृतिक स्रोतसाधनको चरम अभावबीच पनि सुमेरीहरूले जे उपलब्ध थियो, त्यहीबाट महान् सभ्यता खडा गरे। माटोबाट उनीहरूले लगभग हरेक थोक बनाए—खाना पकाउने भाँडादेखि बाली काट्ने हँसिया र लेख्ने पाटीसम्म। उनीहरूले हिलोमाटोबाट इँटा पारे र सिमसारका नर्कटबाट छाना बुने। उनीहरूका घरमा जटिल मेहराब (arches) र गुम्बज (domes) हुन्थे, र मरुभूमिको प्रचण्ड गर्मी छल्न राति प्रायः कौसी वा छानामा सुत्थे।

सुमेरी काँचो इँटाको वास्तुकला र दैनिक शिल्पकलाको पुनर्संरचना
माटो, नर्कट र तामाकै भरमा सुमेरी शिल्पीहरूले गुम्बजदार घर, गाडा, पालजडित डुङ्गा र जीवन्त कार्यशालाहरू निर्माण गरे।

उनीहरूले कुमालेको चक्रलाई अझ परिष्कृत बनाए, हलो र गाडाको पाङ्ग्रा आविष्कार गरे, ऊन र रेसा काते, तामा र पछि काँसा ढाल्न सिके अनि नदीमा चल्ने पालजडित डुङ्गाहरू बनाए।

उनीहरूले यस्तो गणितको आविष्कार गरे, जुन हामी आज पनि दैनिक जीवनमा प्रयोग गरिरहेका छौँ। वृत्तको कोण नाप्न हामीले प्रयोग गर्ने ३६० डिग्री सुमेरीहरूकै देन हो। उनीहरूको ६० मा आधारित (base-60) सङ्ख्या प्रणाली आज पनि हाम्रो घडीको ६० मिनेटको घण्टा र ६० सेकेन्डको मिनेटमा जीवित छ। एउटा हातका चार औँलाका तीन–तीन जोर्नी बुढीऔँलाले गन्दा १२ पुग्छ, र अर्को हातका पाँच औँलाले गुणन गर्दा ६० बन्छ—यसरी नै उनीहरूले यो अद्भुत प्रणाली बनाएका थिए।

तर उनीहरूको सबैभन्दा युगान्तकारी आविष्कार भने सिँचाइ थियो। नहर र बाँधहरूको विशाल सञ्जालले मरुभूमिभित्रै खेतीयोग्य जमिन विस्तार गर्‍यो; बाँधहरूले वसन्तको बाढीलाई नियन्त्रण गरे र सुक्खा यामका लागि पानी सञ्चय गरेर अन्नको बचत सुनिश्चित गरे। यही सिर्जनशीलताले मरुभूमिको मुहार फेरिदियो—अनि तिनै नहरहरू अन्न र मालसामान ओसारपसार गर्ने व्यापारिक जलमार्गसमेत बने।

बिस्तारै दक्षिणी इराकको भूदृश्य धुलाम्मे मरुभूमि र दलदले सिमसारबाट हरियाली खेतबारीमा बदलियो। यही कौशल र लगनका कारण सुमेरी समाज सुस्त तर स्थिर गतिमा अघि बढ्दै गयो।

प्राचीन मेसोपोटामियाका सिँचाइ नहर र नदीकिनारका उर्वर खेतहरू
जटिल सिँचाइ नहरहरूको सञ्जालले अनिश्चित मौसमी बाढीलाई भरपर्दो बाली र व्यस्त व्यापारिक मार्गमा परिणत गर्‍यो।

एरिदु: विश्वका पहिलो सहरहरूको उदय

कठोर मरुभूमिको बाध्यता र सुमेरीहरूको सिर्जनशीलताको सङ्गमले बिस्तारै एउटा जटिल र सङ्गठित समाजलाई जन्म दियो। विशाल जलव्यवस्थापन प्रणाली खन्न र मर्मत गर्न सूक्ष्म योजना, इन्जिनियरिङ सीप र गणितीय हिसाबकिताब चाहिन्थ्यो। मजदुरहरूलाई सङ्गठित गर्नुपर्थ्यो र पारिश्रमिकका रूपमा अन्न तथा बियर बाँड्नुपर्थ्यो। कामको रेखदेख गर्न नाइके र निरीक्षकहरू खटाउनुपर्थ्यो। यही व्यावहारिक आवश्यकताबाट प्रारम्भिक प्रशासनतन्त्र (bureaucracy) को जन्म भयो, जसले अन्ततः मानव इतिहासका पहिलो वास्तविक राज्यहरू खडा गर्‍यो।

सुमेरी परम्परामा ती सबैमध्ये पहिलो सहर एरिदु थियो। स.पू. ५,४०० तिर फारसको खाडीको तटमा बसालिएको यो सहर झन्डै १०,००० बासिन्दासम्म फैलियो—जुन त्यस समयका लागि अद्भुत आकार थियो। छिट्टै दक्षिणी इराकभरि साना सहरहरूको एउटा पूरै तारामण्डलजस्तै सञ्जाल फैलियो। यी स्वतन्त्र सहरहरू आ–आफ्ना मुख्य मन्दिरको वरिपरि केन्द्रित थिए र तिनको शासन 'एन्सी' (ensi) भनिने पुजारी–राजाहरूले गर्थे। यी एन्सीहरूलाई सल्लाह दिन ज्येष्ठ नागरिकहरूको सभा हुन्थ्यो, जसमा पुरुष र महिला दुवैको सहभागिता रहन्थ्यो।

प्राचीन एरिदु सहरका भग्नावशेष र पुनर्संरचना
एरिदु—जसलाई पछिल्ला सुमेरीहरूले आकाशबाट राजतन्त्र ओर्लिएको पहिलो सहरका रूपमा सम्मान गरे।

स.पू. ५,००० तिर आइपुग्दा सुमेरी सहरहरूले पुरानो उबैद संस्कृतिलाई पूर्णतः छायामा पारिसकेका थिए। अचम्मको कुरा, 'एरिदु काल' (Eridu period, स.पू. ५,४००–३,९००) भनिने यो प्रारम्भिक सुमेरी युग झन्डै १,५०० वर्षसम्म निकै शान्त रह्यो। यस अवधिमा युद्ध वा व्यावसायिक सेनाको प्रमाण बिरलै भेटिन्छ; अधिकांश सहरहरूमा सुरक्षा पर्खालसमेत थिएनन्। तैपनि, जनसङ्ख्या र सम्पत्ति बढ्दै जाँदा सामाजिक असमानता पनि गहिरिँदै गयो। दासप्रथाको पहिलो प्रमाण यही कालखण्डमा देखा पर्छ—एउटा कालो छाया, जुन आउँदा शताब्दीहरूमा अझै लामो र गाढा हुँदै गयो।

त्यसपछिका केही शताब्दीसम्म सुमेरीहरू अपेक्षाकृत आफ्नै सेरोफेरोमा सीमित रहे र नजिकैको 'कुर' अर्थात् बाहिरी दुनियाँतिर बिरलै निस्किए। तर सहरहरू बढ्दै जाँदा उनीहरूको आविष्कार र अन्वेषणको भोक पनि बढ्यो। छिट्टै उनीहरूले लेखनकलाको आविष्कार गर्ने थिए, पालजडित डुङ्गा चढेर अफ्रिका र भारतसम्म पुग्ने थिए, साइप्रसदेखि अफगानिस्तानसम्म व्यापार फैलाउने थिए र उर (Ur) तथा उरुक (Uruk) जस्ता भव्य महानगरहरू निर्माण गर्ने थिए।

सुमेरी सभ्यताको यो आगामी अध्याय—'उरुक काल' (Uruk Period, स.पू. ३,९००–२,४००)—ले सुमेरलाई एउटा आदिम समाजबाट मानव इतिहासकै पहिलो आधुनिक सहरी सभ्यतामा रूपान्तरण गर्नेछ।

Get new pieces by emailNepali and English, whenever there is something worth sending. No spam.

Subscribe

Comments

Comments

Recent posts

Archive & Series

Loading…

Archives

Most read

Tags