कविता, महाकाव्य र कानुनभन्दा पहिले हिसाब आयो । अनि, अंकहरू मान्छेकै हातमा थिए । मेसोपोटामियाको माटो र नदी-किनारको निगालोमाथि उभिएको सुमेरको सभ्यताले संसारलाई पहिलो लेखन प्रणाली दियो, सबैभन्दा पुरानो बाँचेको साहित्य दियो ।
यो लेख पहिलो पटक २०८३ भदौ ६ गते शिलापत्रमा प्रकाशित भएको थियो।
| कविताभन्दा पहिले हिसाब: लेखाइको सुरुवात एक नजरमा (Created with Claude)। |
कसैले सोच्नुभएको छ, हामीले अहिलेसम्म भेटेका सबैभन्दा पुराना मानव नामहरू के थिए ? हामी कोही रानी-राजा, देवी-देवता वा कोही असाधारण महामानव भनेर सोच्न पुग्छौँ । इतिहासमा अहिलेसम्म नाम भनेर थाहा पाएको महिला पुरुष यही शहरबाट आउँछन्- दुई साधारण मान्छे ।
आजभन्दा साढे पाँच हजार वर्षअघि उरुकको एउटा गोदाममा जौ गन्ने- कुसिम, र उसको केही पुस्तापछि कसैको सम्पत्ति भनेर नाम लेखिएकी- सुक्कलगिर ।
यो उनीहरूको कथा हो ।
छोटकरीमा
- लेखाइ कविताबाट होइन, हिसाबबाट सुरु भयो। उरुकका सबैभन्दा पुराना पाटी (स.पू. ३४००–३१००) मा जौ, बाख्रा र बियरको हिसाब छ।
- कुसिम नाम अठारवटा पाटीमा भेटिन्छ। सायद यो हामीले पढ्न सक्ने सबैभन्दा पुरानो नाम हो, तर मान्छेको नाम हो कि पदको, टुङ्गो लागेको छैन।
- स.पू. ३१०० तिरको पाटीमा गल-सलका दुई दासमध्ये एक भनेर लेखिएकी सुक्कलगिर नाम पढ्न मिल्ने पहिली महिला हुन्।
- कुसिमकी हाकिम ‘निशा’ को चर्चित कथाको कुनै अध्ययनको आधार छैन।
- एक मिनेटमा ६० सेकेन्ड र वृत्तमा ३६० डिग्री सुमेरको साठीमा गन्ने तरिकाबाट आएका हुन्।
गिल्गामेसको कथा- संसारको सबैभन्दा पुरानो महाकाव्य
'जसले गहिराइ देख्यो, जसले धरतीको जग चिन्यो, जो सबै कुरामा बुद्धिमान् थियो ।'
मानव सभ्यताको सबैभन्दा पुरानो साहित्य यसरी सुरु हुन्छ । उरुकमा सनपूर्व (स.पू.) २१०० मा लेखिएको गिल्गामेसको महाकाव्यले उरुकका राजा गिल्गामेसको कथा भन्छ । सबैभन्दा पुरानो बाइबल लेखिनुभन्दा झण्डै एक हजार वर्षअघि लेखिएको गिल्गामेसमा राजा हुनुको, शोकको, अमरत्वको र संसारै डुबाएको बाढी सबैको कथा समेटिएको भेटिन्छ ।
गिल्गामेसको कथा कुनै जितको कथा होइन । मृत्युलाई जित्न हिँडेको एक राजा अन्त्यमा थाकेर आफ्नै शहर फर्केको कथा हो यो ।
| गिल्गामेसको महाकाव्य, बाढीको कथा (ई.पू. १२००, एसिरियन ट्याब्लेट, ब्रिटिस म्युजियम) । |
कथाअनुसार, गिल्गामेस दुई भाग देवता र एक भाग मान्छे थियो । देवताको बेचैनी र मान्छेको कमजोरी, दुवै बोकेको । उसलाई थाहा थियो, आफू मर्छु भनेर । अनि, मृत्युदेखि डराउने मान्छेहरूले जे गर्छन्, उसले पनि त्यही नै गर्छ ।
गिल्गामेस, देवताले छिर्नै नहुने भनेको देवदारको (सेदार) जंगल चिर्छ । दानवसँग लड्छ । स्वर्ग-नर्कको पानी तर्छ । नदीको किनारमा सुतेका बेला उसले भेटाउन लागेको अमरत्व सर्पले खोसेर लगिदिन्छ । गिल्गामेस रित्तै उरुक फर्कन्छ । अनि, अन्त्यमा आफ्नै शहरका पर्खालअगाडि उभिएर भन्छ,
'हेर उरुकका पर्खाल, त्यसमाथि उक्लेर घुम । त्यसको जग जाँच, इँटा राम्ररी नियाल । के त्यो भट्टीमा पोलेको इँटाले बनेको होइन ? के त्यसको नक्सा भगवान्ले नै कोरेका होइनन् ?'
–गिल्गामेसको महाकाव्य (स.पू. १२००, एसिरियन ट्याब्लेट)
संसारको सबैभन्दा पुरानो कथा यसरी नै सकिन्छ । न देवता खुसी भएर, न सिंहासन फिर्ता पाएर । एउटा थाकेको राजा, आफैँले बनाएको पर्खाल, अनि एउटा चुपचाप बुझाइ- मैले बनाएको शहर मभन्दा धेरै बाँच्नेछ ।
गिल्गामेस उरुकका पर्खालअघि स.पू. २७०० को कुनै वर्ष उभिएको थियो । गिल्गामेसले उभिएको पर्खाल र ढुंगा समयसँगै खण्डहर बने । शहर सम्झनाबाटै मेटियो, तर यो शहरले मानव सभ्यतालाई दिएको देन गिल्गामेसको ढुंगा र माटोको पर्खालभन्दा धेरै ठूलो छ ।
गिल्गामेसको समयभन्दा पाँच सय वर्षअघि नै उरुक संसारको पहिलो महानगर भएर दक्षिण मेसोपोटामियामा उभिइसकेको थियो । उरुकमा त्यसको दुई सय वर्षअघि नै कसैले भिजेको माटो हातमा थपथपाएर त्यसमा निगालोको टुक्रा गाडेर चिनो बनाउन सुरु गरिसकेको थियो । ढुंगा र पर्खालभन्दा धेरै टिक्ने चिनो ।
एउटा धर्को । एउटा अंक । एउटा शब्द ।
शब्दभन्दा पहिले अंक
गिल्गामेसभन्दा पहिले, देवदारको जंगल र उरुकको पर्खालभन्दा पहिले, पुरानो संसारबारे हामीले सुनेका सबै कथाभन्दा धेरै अगाडि- सुरुमा अंकहरू आए । अनि, अंक कसैले बनाउनु परेन । हाम्रो शरीरमै थिए, हातका औँलाहरूमा लुकेर बसेका ।
आफ्नो दाहिने हात उठाएर फैलाउनुहोस् । बुढीऔँलाले बाँकी चार औँलाका गाँठा छामेर गन्दै जानुहोस् । हरेक औँलामा तीन-तीन गाँठा हुन्छन् । चार-औँला, तीन-गाँठा । अर्को हात नउठाईकनै एउटै हातमा बाह्र पुग्छ ।
एकपटक बाह्र पुगेपछि देब्रे हातका औँला एक-एक गर्दै खुम्च्याउँदै जानुहोस् । हरेकपटक बाह्र पुग्दा एक औँला, पाँच औँला खुम्चिँदा कति पुग्छ ?
पाँच गुणा बाह्र । साठी ।
सुरुवात यसरी नै भएको हो । दरबारमा होइन, मन्दिरमा होइन- दैनिक हिसाबकिताब राख्नुपर्ने साधारण मान्छेको हातबाट । साठी गन्ने यो प्रणाली कसैले घोषणा गरेर सुरु गरेको होइन । हामी सबैको शरीरमा पहिलेबाटै थियो- जहाँसुकै, जोसुकैले, केही नजाने पनि हातका औँला गन्न सक्थ्यो ।
| मेसोपोटामियाको मानव सभ्यताले सुरु गरेको हिसाब प्रणाली (Created with Claude) । |
मेसोपोटामियामा, उरुक शहर यसरी नै बन्यो, सुमेरको सभ्यता यहीँबाट सुरु भएको थियो । ती अंकहरू हामीमाझ अझै छन् । सुमेरियनहरूले लेखाइ मात्रै सुरु गरेनन्, आफूले सुरु गरेको हिसाबलाई सभ्यताको हाडमै यसरी गाडिदिए, हामीले अझै छोड्न सकेका छैनौँ ।
गन्ती गर्दा चार धर्सो कोरेर बीचबाट काट्ने पाँचको त्यो चिनो हामीले अझै प्रयोग गरिरहेका छौँ । एक मिनेटमा साठी सेकेन्ड । एक घण्टामा साठी मिनेट । वृत्तमा तीन सय साठी डिग्री । भित्तामा झुण्डिएको घडीले अहिले पनि पाँच हजार वर्षअघि सुमेरका मान्छेले औँलामा गनेकै तरिकाले समय देखाइरहेको छ ।
भित्तामा झुण्डिएको घडीले अहिले पनि पाँच हजार वर्षअघि सुमेरका मान्छेले औँलामा गनेकै तरिकाले समय देखाइरहेको छ ।
तर, साठी लेखाइ होइन । साठी गन्ती हो । अनि धेरै लामो समय, सयौँ सायद हजारौँ वर्ष, गन्ती नै पर्याप्त भइरह्यो । लेखाइ धेरैपछि आयो । त्यो पनि शब्दबाट होइन, चित्रबाट सुरु भएको थियो ।
माटो, निगालो र पहिलो चिनोहरू
मानव सभ्यताका पहिला ताराहरू उरुकमा स.पू. करिब ३४०० तिर चम्कन सुरु भएको हो । गिल्गामेसको कथाको केही समयपछि लेखिएको अर्को सुमेरियन काव्य एन्मेर्कर र आरात्ताका राजाले लेखाइको आविष्कारक उरुकका राजा (स.पू. ३४००) कुल्लाबालाई दिन्छ- जोसँग हुलाकीले बोकेर पुर्याउन सक्नेभन्दा धेरै सन्देश थिए ।
“हुलाकीको मुख गह्रौँ भयो र उसले सन्देश दोहोर्याएर भन्न सकेन । त्यसपछि कुल्लाबाले छेउको माटो थपथपाएर पाटी बनाए, अनि त्यसमाथि शब्द राखिदिए । कुल्लाबाले त्यसो गर्नुअघि माटोमाथि शब्द राख्ने चलन थिएन ।”
- एन्मेर्कर र आरात्ताका राजा (~स.पू. २०००)
सुमेरका मान्छेसँग दुई कुरा प्रशस्त थिए- खुट्टामुनिको नदीले बनाएको हिलो माटो र किनारमा उम्रिने निगालो (रिड) । लेखक (स्क्राइब)ले माटोको डल्लो थपथपाएर अहिलेको मोबाइलजस्तै पाटी बनाउँथे, निगालो काटेर चुच्चो बनाउँथे, अनि त्यही चुच्चो माटोमा घुसारेर चिनो कोर्थे । त्यही चुच्चो आकारको नामबाट संसारको सबैभन्दा पुरानो लिपिको नाम बन्यो- क्युनिफर्म, अर्थात् किलाकार ।
सुरुका चिनोहरू पिक्टोग्राफ थिए, जोसुकैले हेरेर बुझ्ने सिधा चित्र । माछाको चित्रले माछा जनाउँथ्यो । कोरिएको गोलोले गाईवस्तु । घैँटोले तेल । पहिलोपटक स.पू. ३४०० तिर देखा परेको यो प्रणालीलाई प्रोटो-क्युनिफर्म भनिन्छ ।
| चित्रबाट किलाकार- सुरुका अक्षरका नमुनाहरू (Created with Claude) । |
सुरुका अभिलेखहरू सुक्खा छन्- बाख्राको सूची, जौको नाप, बियरको बाँडफाँट । तर, त्यसको अर्थ विशाल रह्यो । लेखाइले पहिलोपटक सम्झनामा मात्र भर नपरी सुचनालाई माटोको पाटीमा सारेर सबैतिर पुग्न मिल्ने बनाइदियो ।
मेसोपोटामियाको तापमा माटो सुकेर कडा हुन्थ्यो र त्यसरी नै बाँचेर बस्थ्यो । त्यसैले ती पहिला चिनोहरू बाँचे- पुराना भण्डारमा थुप्रिएर, शताब्दीऔँको भग्नावशेषमुनि पुरिएर । उरुकमा त्यही बेला लेखिएका पाटीहरू पाँच हजार वर्षपछी पुरातत्त्वविद्हरूले खोतल्दा, ती अभिलेखहरू अझै पढ्न मिल्ने गरी बसेका थिए ।
बचेका अठार पाटी, अनि एउटा नाम
त्यही, सम्झनाभित्र अठार वटा पाटी बाँचेका छन् । उरुकको भग्नावशेषबाट निकालिएका जम्मा अठार पाटी- करिब स.पू. ३४०० देखि ३१०० बीचमा कोरिएका ।
ती कानुन थिएनन् । भजन थिएनन् । पछिसम्म रहिरहोस् भनेर कुँदिएका राजकीय घोषणा पनि होइनन् । ती भरपाइ हुन् । खाता हुन् । पाँच हजार वर्षसम्म जोगिएर बसेको एउटा व्यस्त गोदामको दैनिक हिसाब खाता । अनि, ती अठारैवटा पाटीमा उही दुई चिनो कोरिएका छन् । 'कु' । 'सिम' ।
कुसिम । हामीले, इतिहासमा भेटाउने सबैभन्दा पुरानो नाम ।
कुसिम राजा थिएन, योद्धा थिएन, पुजारी थिएन, पर्खाल बनाउने डकर्मी पनि थिएन । कुसिम मन्दिरको हिसाब खाता राख्ने साधारण मान्छे थियो- गोदामको ढोकामा उभिएर के भित्रियो, के बाहिरियो भनी गन्ने भण्डारे । उसको नाम अठारवटै पाटीमा उही सफा हस्ताक्षरमा दोहोरिन्छ ।
पहिला अक्षरहरू देवताका लागि लेखिएनन् । राजाका लागि पनि लेखिएनन् । ती अन्नका लागि लेखिएका हुन् । युवाल नोआ हरारीले आफ्नो चर्चित पुस्तक सेपियन्समा हाम्रा पुर्खाले छोडेका सबैभन्दा पुराना सन्देशमध्ये एकलाई यसरी पढेका छन्:
पहिला अक्षरहरू देवताका लागि लेखिएनन् । राजाका लागि पनि लेखिएनन् । ती अन्नका लागि लेखिएका हुन् ।
'२९,०८६ नाप जौ, ३७ महिना, कुसिम ।'
सम्भावित अर्थ: 'सैँतीस महिनाको अवधिमा उनन्तीस हजार छयासी नाप जौ भित्रियो । हस्ताक्षर, कुसिम' ।
हरारी थपिदिन्छन्- 'इतिहासका पहिला लेखोटमा न कुनै दार्शनिक ज्ञान छ, न कविता, न कथा, न कानुन, न त राजाको विजयगाथा नै । ती त कर तिरेको, ऋण थुप्रिएको र सम्पत्ति कसको हो भन्ने टिपेका निरस कागजपत्र मात्रै हुन् ।
| कुसिमको ट्याब्लेट उरुक, स.पू. ३४००-३००० । फोटो: स्कोयन संग्रह MS 1717 । |
यद्यपि, यति भन्नु हामीले प्रमाणित गर्न सक्नेभन्दा बढी हो । ती चिनोका वरिपरि सन्दर्भ लगभग भेटिँदैन र कुसिम भन्नाले एउटा मान्छे, कुनै पद, वा पूरै संस्था जनाएको हो भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । कुसिम मान्छे पनि हुन सक्छ । कुसिम पदको नाम पनि हुन सक्छ ।
ती अठार पाटीमध्ये एउटामा सायद इतिहासकै पहिलो हिसाबको गल्ती जोगिएको छ । जौको जोड बिग्रिएको छ, पन्ध्र नापले फरक परेको गल्ती हतारमा पाटीको पछाडि सच्याएर कोरिएको भेटिन्छ ।
पाँच हजार वर्ष पुरिएको त्यो गल्तीले कुनै पनि स्मारकले गर्न नसक्ने काम गरिदिन्छ । त्यसले कुसिमलाई हामीजस्तै मान्छे बनाइदिन्छ । चिनेजानेको बनाइदिन्छ । कुनै किंवदन्ती होइन, कामको चटारोमा हिसाब अलिकति बिगारेको साधारण एक मान्छे ।
कुसिम इतिहास लेखिरहेको थिएन । ऊ जौ गनिरहेको थियो, आफ्नो काम गरिरहेको थियो ।
कुसिम इतिहास लेखिरहेको थिएन । ऊ जौ गनिरहेको थियो, आफ्नो काम गरिरहेको थियो ।
इतिहासमा पहिलोपटक लेखिएकी महिला
कुसिमको पाटीभन्दा एक-दुई पुस्तापछिको अर्को पाटी छ, करिब स.पू. ३१०० को । यसमा एक जना मालिक र उसले दुई दास किनेको टिपोट भेटिन्छ ।
गल-सलका दुई दास- एन-पप (काटिएको) र सुक्कलगिर (En Pap X, Sukkalgir)
चार शब्दमा तीन जना- एउटा मालिक, र उसले दास बनाएका दुई मान्छे । एन-पपको नामको एउटा भाग काटिएको छ, हामीले अझै पढ्न सकेका छैनौँ । उसको आधा नाम बाँचेको छ । उसैसँग जोडिएको अर्को नाम छ- सुक्कलगिर, जसबारे कुनै सन्देह छैन ।
अहिलेसम्मको पुरातात्त्विक अभिलेखले नाम पढ्न मिल्ने पहिली महिला उनै हुन् । कुनै देवी होइनन् । कुनै रानी होइनन् । मन्दिरको भित्तामा कुँदिएकी पुजारी पनि होइनन् ।
सम्पत्ति ।
| गल-सलका दुई दासहरू- सिकागो म्युजियम OIM A2513, (फोटो, जिन ग्रान्ट) । |
अभिलेखले हामीलाई दिएको कुरा यही हो, र यसलाई अडिएर हेर्नु वेश हुन्छ । संसारमा पहिलोपटक कुनै महिलाको नाम लेखिँदा, उनी कसको सम्पत्ति हुन् भनेर हिसाब राख्नलाई लेखिएको हो ।
संसारमा पहिलोपटक कुनै महिलाको नाम लेखिँदा, उनी कसको सम्पत्ति हुन् भनेर हिसाब राख्नलाई लेखिएको हो ।
उनले त्यो लेखिनन् । उनको भनाइ केही थिएन । उनी कस्ती थिइन्, कसरी अरुको भइन्, कति बाँचिन्- हामीलाई थाहा छैन । हामीलाई उनको नाम थाहा छ, र गल-सलले उनलाई दास बनाएको थियो भन्ने थाहा छ ।
अनि, निशाको कुरा
इतिहासमा भेटिने पहिलो मान्छेको कथा सुनाउने धेरै ठाउँमा तपाईंले पहिलो महिलाको नाम भनेर निशा भेट्नुहुनेछ- कुसिमकी हाकिम, उनका खातामा सही गर्ने महिला, इतिहासमा नाम लेखिएकी पहिली महिला ।
राम्रो कथा हो । तर, यसमुनि कुनै अध्ययनको आधार छैन । जहाँ भेटिन्छन्, त्यहाँ प्रायः नि ‘स्सा’ लेखिएको हो कि भनेर अनुमान हुन्छ, निशा होइन । उनी महिला थिइन् भन्ने कुनै प्रमाण भेटिँदैन । कथा एकपटक सुनाउँदा र अर्कोपटक सुनाउँदाको बीचमा कतै उनी बनिएकी हुन् जस्तो देखिन्छ ।
साँचो कुरा गाह्रो हुन्छ । प्रायः यस्तै हुन्छ ।
चित्रबाट अक्षर
सुमेरमा सभ्यताको सुरुवात भर्खरै हुँदै थियो । स.पू. ३००० आइपुग्दा उरुक प्राचीन् समयको सबैभन्दा ठूलो शहर भइसकेको थियो- करिब ५० हजार- १ लाख स्थायी बासिन्दा बस्ने शहर ।
कुसिमको केही पुस्ताभित्रै ती चित्रहरू फेरिन थालिसकेका थिए । बिस्तारै पिक्टोग्राफहरू सरल हुँदै गए । आवश्यकताले माटोका पाटीमा खोपिएका चित्रलाई बिस्तारै अक्षर बनाइदियो ।
मेसोपोटामियाको गर्मीमा दिनको सयौँ कागज सार्ने लेखकसँग माछा भन्नुपर्दा हरेकपटक माछा कोर्ने फुर्सद हुँदैन । चित्र सजिलो बन्दै जान्छ । चिनो घुम्छ । साँढेको टाउको फेरिएर धर्को मात्रै बन्छ, जसलाई कसैले साँढे भनेर चिन्दैन ।
स.पू. ३००० सम्ममा लिपि चित्रबाट पूरै हटेर माटोमा कोणमा ठोकिएका चुच्चा छापहरूमा पुगिसकेको थियो, जसलाई हामी अहिले क्युनिफर्म भन्छौँ । अनि, चिनोको सङ्ख्या पन्ध्र सयभन्दा माथिबाट झरेर करिब छ सयमा आइपुगेको थियो ।
अक्षरले आवाज बोक्न थालेपछि
त्यसबेला कसैले बुझ्यो- माटोको पाटीमा कोरिएका अक्षरले आवाज जनायो भने । माछाको चित्रले माछा होइन, माछाभन्दा निस्कने आवाज । टाउकोको चित्रले टाउको होइन, त्योभन्दा निस्कने अक्षरांश ।
अनि, अक्षरले आवाज जनाउन सक्छ भने त्यसलाई आवाज भएको जुनसुकै शब्दका लागि प्रयोग गर्न सकिने भयो । अनि, जुनसुकै शब्दका लागि अक्षर हुन सक्छ भने, लेखिएका पाटीहरू जुनसुकै विचार बोक्न सक्ने भए ।
तर, यो नयाँपनसँगै अर्को कुरा पनि भित्रियो- पहुँचको साँघुरोपन । यी नयाँ चिनो पढ्न र लेख्न पढेलेखेका लेखकहरूको एउटा वर्गले मात्रै सक्थ्यो । एउटा पेसा जन्मियो । लेखिएको शब्दको वरिपरि चुपचाप ठूलो-सानोको एउटा तह बस्यो, अनि संसार फेरि पहिलेजस्तो भएन ।
किनभने, पहिलोपटक ज्ञानले बोली र सम्झनाभन्दा लामो आयु पायो । माटो सुक्यो, अक्षर बाँचिरह्यो । त्यसैले हामी अहिले पनि तिनका महाकाव्य पढ्न सक्छौँ, तिनको सङ्गीतको प्रतिध्वनि सुन्न सक्छौँ । मान्छेले आफू जन्मिनुभन्दा सयौँ वर्षअघि मरिसकेका राजा र लेखकबाट सिक्न पाए । अधिकार बोलेर मात्रै होइन, सारेर पनि दिन सकिने भयो । ज्ञान सम्झेर मात्रै राख्नुपर्ने भएन, त्यसमाथि थप्न सकिने भयो ।
सुमेरको प्रविधि भर्खरै सुरु हुँदै थियो । मेसोपोटामिया वरिपरि फैलिएको मानव-सभ्यताको प्रारम्भिक विन्दु यही थियो ।
अन्त्यमा, फेरि उही पर्खाल
कुसिमले जौको हिसाब बिगारेको केही शताब्दीपछि, त्यही शहरका लेखकहरूले माटोमा एउटा राजाको कथा कोर्दै थिए । त्यो राजा, जो संसारको छेउसम्म पुगेर रित्तै फर्किएको थियो । जो आफ्नै पर्खालअगाडि उभियो, अनि आफ्नै अस्थायित्व बुझ्यो ।
कुसिमको जौ उहिल्यै खाइसकियो । उरुकका पर्खाल अहिले भग्नावशेष मात्र छन् । गिल्गामेस मरेको पाँच हजार वर्ष भयो । तर, तिनका नाम अझै छन् । गिल्गामेसको महाकाव्य गिल्गामेस मरेको छ सय वर्षपछि लेखिएको थियो, अनि एक हजार वर्षपछि त्यही कथाले तोराह बाइबल र कुरान जन्मायो ।
अनि, भेटाएका सुरुवाती नामहरूमध्ये एउटी महिलाको पनि नाम छ- सुक्कलगिर ।
संसारमा पहिलोपटक कुनै महिलाको नाम लेखिँदा उनलाई कसैको सम्पत्ति भनेर लेखिएको थियो । उनले लेखिनन् । उनको भनाइ त्यहाँ केही थिएन । किनबेचको हिसाबकिताबको दाबी- सम्पत्ति मात्रै ।
पाँच हजार वर्षपछि पनि आज हामी कुसिम, एन-पप र सुक्कलगिर पढ्न सक्छौँ । जौ गन्ने एउटा मान्छे । एउटा पुरुष, जसको आधा नाम मात्रै बाँचेको छ । अनि एउटी महिला, जसको नाम कसैले आफ्नो सम्पत्तिको हिसाब गर्दा लेखिएको थियो ।
लेखाइले गरेको यही हो- सम्झनालाई जोगाइदियो । यसले शक्तिशालीलाई मात्रै जोगाएन, यसले होसियारलाई पनि जोगायो । यसले शक्तिविहीनहरूलाई पनि जोगायो ।
धेरैले सोध्ने प्रश्न
इतिहासमा लेखिएको सबैभन्दा पुरानो नाम कुन हो?
हामीले पढ्न सक्ने सबैभन्दा पुरानो नाम सायद कुसिम हो। उरुकका स.पू. ३४०० देखि ३१०० बीचका अठारवटा हिसाबका पाटीमा यो नाम छ। तर यो कुनै मान्छेको नाम हो कि पदको, विद्वान्हरू अझै पक्का छैनन्।
नाम पढ्न मिल्ने पहिली महिला को हुन्?
सुक्कलगिर। स.पू. ३१०० तिरको एउटा पाटीमा गल-सल नाम गरेका मालिकका दुई दासमध्ये एकको रूपमा उनको नाम लेखिएको छ।
एक घण्टामा ६० मिनेट किन हुन्छ?
सुमेरका मान्छे साठीको आधारमा गन्थे। एउटा हातका चार औँलाका १२ गाँठा बुढीऔँलाले गनेर, अर्को हातका पाँच औँलाले दर्जन गन्दा साठी पुग्छ। त्यही प्रणाली बेबिलोन हुँदै आजको घडी र वृत्तसम्म आइपुग्यो।
किलाकार (क्युनिफर्म) लिपि कहिले सुरु भयो?
उरुकमा स.पू. ३४०० तिर चित्रलिपि (प्रोटो-क्युनिफर्म) सुरु भयो। स.पू. ३००० सम्म ती चित्र माटोमा कोणमा थिचिएका चुच्चा चिनोमा बदलिए, जसलाई हामी किलाकार भन्छौँ।
के निशा इतिहासमा नाम लेखिएकी पहिली महिला हुन्?
होइन। ‘निशा’ को कथा इन्टरनेटमा धेरै फैलिएको छ, तर यसको कुनै अध्ययनको आधार छैन, र उनी महिला थिइन् भन्ने प्रमाण पनि छैन।
यो पनि पढ्नुहोस्
- संसार डुबाएको पुरानो बाढीको कथा: र्याङ्गेल टापुमा ६ हजार वर्ष बाँचेका आठ हिमहात्ती
- समयको उत्खनन शृङ्खलाका अरू लेख
- यो लेख अङ्ग्रेजीमा पढ्नुहोस् (English)
Comments
Comments
Post a Comment