बासभ

बासभ

@naharchowck

ImmunotherapyMolecular BiologyOccasional WriterOccasional Photographer

Stories from history, science, and the in-between.

Still in search of sleep, sanity and the Shire.

A cage went in search of a bird.Kafka

नोबेल पुरस्कारमा नअटाएको चौथो कुर्सी: परिश्रम शोधकर्ताको, पदक प्रयोगशालाका प्रमुखलाई

Written by बासभ
New pieces by email, Nepali and English.Subscribe

रिसर्च पेपरमा पहिलो नाम परिश्रम गर्ने शोधकर्ताको हुन्छ, अन्तिम नाम प्रयोगशाला प्रमुखको । तर, नोबेलको मञ्चमा पुग्ने प्रायः अन्तिम नाम नै हो, खोज गर्ने होइन, खोजको नेतृत्व गर्नेहरूको ।

यो लेख पहिलो पटक २०८३ कात्तिक ३ गते शिलापत्रमा प्रकाशित भएको थियो।

पारदर्शी स्ट्यान्डमा राखिएको सुनौलो नोबेल पदक, लेखक प्रवेश खतिवडाको तस्बिर र नोबेलको तीन कुर्सीको नियमबारे लेखको उद्धरण
शिलापत्रमा प्रकाशित लेखको हेडर ।

एड बोयडनलाई नचिनेको चिकित्साशास्त्रको नोबेल

५ अक्टुबर २०२६, सोमबार ।

स्टकहोमको कारोलिन्स्का इन्स्टिच्युटले हरेक वर्षझैँ यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गर्‍यो । यस वर्षको पुरस्कार प्रकाशको सहायताले मस्तिष्कका स्नायुकोष (न्युरोन) लाई चाहेको बेला सक्रिय वा निष्क्रिय पार्ने प्रविधि अप्टोजेनेटिक्सका लागि दिइएको थियो ।

छोटकरीमा

  • नोबेल पुरस्कार बढीमा तीन जनाले मात्र बाँड्न पाउँछन्, र मरिसकेका व्यक्तिलाई दिइँदैन।
  • रिसर्च पेपरमा पहिलो नाम प्रायः काम गर्ने विद्यार्थी वा शोधकर्ताको हुन्छ, अन्तिम नाम प्रयोगशाला प्रमुखको। नोबेल प्रायः अन्तिम नामतिरै जान्छ।
  • सन् २०२६ को चिकित्साशास्त्रको नोबेल अप्टोजेनेटिक्सका लागि डाइसरोथ, हेगेम्यान र नागेलले पाए, तर सन् २००५ को पेपरका पहिलो लेखक एड बोयडनले पाएनन्।
  • सोहेई होरी, रोजालिन्ड ली, डगलस प्रासर, जोसलिन बेल र अल्बर्ट स्याट्ज पनि यसरी नै छुटे।
  • सन् १९०३ मा पियर क्युरीको चिट्ठीले मेरी क्युरीलाई नोबेलको मञ्चमा पुर्‍यायो, जुन दुर्लभ अपवाद हो।

अल्फ्रेड नोबेलले आफ्नो इच्छापत्रमै हरेक विधाको पुरस्कार छुट्टाछुट्टै संस्थाले छान्ने व्यवस्था गरेका छन् । हरेक वर्ष भौतिकशास्त्र र रसायनशास्त्रको पुरस्कार स्वीडेनको रोयल एकेडेमीले, चिकित्साशास्त्रको कारोलिन्स्का इन्स्टिच्युटले, साहित्यको स्वीडिस एकेडेमीले र शान्ति पुरस्कार नर्वेको नोबेल कमिटीले छान्छन् । नोबेल पुरस्कारका केही नियम भने पछि बनाइएका हुन् र तीमध्ये दुई नियम निकै कडा छन् । एउटा पुरस्कार बढीमा तीन जनालाई मात्र दिन सकिन्छ र मृत व्यक्तिलाई पुरस्कार दिन मिल्दैन ।

एउटा पुरस्कार बढीमा तीन जनालाई मात्र दिन सकिन्छ र मृत व्यक्तिलाई पुरस्कार दिन मिल्दैन ।

यसपटक चिकित्साशास्त्रको नोबेल पुरस्कार पाउनेहरू तीन जना थिए: अमेरिकाका कार्ल डाइसरोथ, जर्मनीका पिटर हेगेम्यान र जर्ज नागेल । हरियो लेउमा प्रकाशले खुल्ने प्रोटिन पत्ता लगाएका हेगेम्यान र नागेलको योगदानलाई कसैले नकारेका छैनन् । तर, प्रश्न स्नायुमा त्यसको प्रयोग गरेका दुई जनाको हो– पुरस्कारले चिनेको तेस्रो र पुरस्कारमा नअटाएका चौथो व्यक्तिको हो ।

पुरस्कार घोषणा भएको केही घण्टामै सामाजिक सञ्जालमा एउटै प्रश्न घुम्न थाल्यो: एड बोयडन खोइ ? सन् २००५ मा छापिएको अप्टोजेनेटिक्सको जग बसाल्ने पेपरमा पहिलो नाम बोयडनकै थियो र अन्तिम नाम डाइसरोथको । नागेल र हेगेम्यानले पत्ता लगाएको प्रोटिनलाई स्नायुमा कसरी प्रयोग गर्न सकिन्छ भनेर देखाएको त्यो पेपरकै कारण अप्टोजेनेटिक्सको नयाँ विधा सुरु भएको हो ।

त्यतिबेला बोयडन र डाइसरोथ अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा थिए । अर्को प्रयोगशालामा पीएचडी गरिरहेका बोयडनले साइड प्रोजेक्टको रूपमा डाइसरोथसँग मिलेर अप्टोजेनेटिक्सको काम गरेका थिए । डाइसरोथ त्यतिबेला भर्खर आफ्नो स्वतन्त्र करिअर सुरु गर्दै थिए ।

आज डाइसरोथ स्ट्यानफोर्डमै प्राध्यापक छन् र बोयडन एमआईटीमा । बोयडनले साइड प्रोजेक्टको रूपमा सुरु गरेको अप्टोजेनेटिक्सको त्यही पेपरले नोबेल जित्यो । नोबेल समितिले डाइसरोथलाई चिन्यो, तर बोयडन अटाउने चौथो कुर्सी थिएन ।

हरेक वर्ष नोबेल सप्ताहमा बोयडन र डाइसरोथकै कथा पटकपटक दोहोरिरहन्छ । हरेक रिसर्च पेपरमा पहिले नाम अनुसन्धानमा मुख्य भूमिका भएको विद्यार्थी वा रिसर्चर (शोधकर्ता) को हुन्छ, अन्तिम नाम वरिष्ठ अनुसन्धानकर्ता वा प्रयोगशाला प्रमुखको । पुरस्कार र श्रेय दुवैले प्रायः अन्तिममा नाम भएको लेखकलाई नै चिन्छन् ।

यो कथा यसपटकको मात्र होइन, नयाँ पनि होइन, विज्ञानको इतिहासमा एड बोयडनहरू धेरै छन् । तर, एक जना वैज्ञानिक यस्ता पनि छन्, जसले यो चलनलाई आजभन्दा १२३ वर्षअघि नै उल्टो फर्काइदिएका थिए ।

मेरी क्युरी– नोबेल पुरस्कार पाउने पहिलो महिला

२५ जून १९०३, पेरिसको सोर्बोन ।

पैँतीस वर्षकी एक पोलिस महिला आफ्नो पीएचडी रिसर्चको मौखिक परीक्षा दिन परीक्षकहरूका अगाडि उभिएकी थिइन् । उनको पीएचडी रिसर्चको विषय थियो, ‘रेडियोधर्मी पदार्थमाथि अनुसन्धान’ ।

ठीक ६ वर्षअघि उनले सानो प्रश्न समातेर पीएचडीको रिसर्च सुरु गरेकी थिइन् । युरेनियमबाट आँखाले नदेखिने ‘नयाँ प्रकारको’ किरण निस्कन्छ भनेर फ्रान्सेली वैज्ञानिक हेनरी बेकरेलले पहिल्यै देखाइसकेका थिए । तर, त्यो किरण के हो, कति हुन्छ, अरु पदार्थबाट पनि निस्कन्छ वा निस्कँदैन, कसैलाई थाहा थिएन । उनले त्यसैलाई पछ्याउन थालिन् । युरेनियम मात्रै नभएर थोरियमबाट पनि त्यस्तै किरण निस्कन्छ भनेर भेटाइन्, र त्यसलाई ‘रेडियोधर्मिता’ (रेडियोएक्टिभिटी) नाम दिइन् ।

उनले रिसर्च सुरु गर्दा नै युरेनियममा ‘रेडियोधर्मिता’ हुन्छ भनेर थाहा थियो । तर, युरेनियम निकालिने खनिज, पिचब्लेन्डमा युरेनियमभन्दा धेरै रेडियोधर्मिता भएको अर्को तत्त्व हुन्छ भनेर कसैले हेक्का गरेका थिएनन् । पिचब्लेन्डको रेडियोधर्मिता नाप्दा उनको ध्यान त्यही नयाँ तत्त्वले तान्छ र पीएचडीको मुख्य रिसर्च त्यो पदार्थ के हो भनेर खोज्नु बन्छ ।

यतिबेलासम्म आइपुग्दा उनका पति पनि आफ्नो अनुसन्धान छोडेर उनलाई साथ दिन थाले । दुवै जना मिलेर सन् १८९८ भित्रै ती दुई नयाँ तत्त्व भेट्टाए, पोलोनियम र रेडियम । त्यसपछिका चार वर्ष दुवै जनाले पानी चुहिने टहरामा आफ्नै कदजत्रो फलामको डन्डीले टनका टन पिचब्लेन्ड उमालेर चलाउँदै शुद्ध रेडियम छुट्याउँदै बिताएका थिए ।

२५ जून १९०३ मा परीक्षकहरूका अगाडि उभिएकी ती रिसर्चर थिइन् मेरी क्युरी र दर्शकमाझ बसेका थिए उनका पति र सहकर्मी पियर क्युरी ।

सन् १९०३ को सुरुमा फ्रान्सेली विज्ञान प्रतिष्ठानले त्यो वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कारका लागि दुई जनाको नाम सिफारिस गरेको थियो: हेनरी बेकरेल र पियर क्युरी, जसको प्रश्न र अनुसन्धानबाट यो सबै सुरु भएको थियो, उनको नाम सूचीमा अटाएकै थिएन ।

नोबेल समितिमा त्यो वर्ष स्वीडेनका गणितज्ञ गोस्टा मिट्टाग-लेफ्लर थिए । उनलाई यो कुरा खट्कियो, र पियरलाई चिट्ठी लेखे । पियरको नाम मात्रै पुरस्कारका लागि सिफारिस भएको खबर सुनाए । अगस्टमा पियरले जवाफ पठाएका थिए: ‘पुरस्कारका लागि मेरो नाम साँच्चै विचार हुँदै छ भने, रेडियोधर्मी पदार्थको अनुसन्धानका लागि म मेरीसँगै विचार गरिन चाहन्छु ।’ धेरै ठाउँमा पियरले ‘मेरी नभए म पुरस्कार लिन्नँ’ भनेका थिए भनेर लेखिन्छ । तर, उनको चिट्ठीमा भने त्यति कडा शब्द छैनन् । चिट्ठी नरम थियो, तर आशय स्पष्ट थियो ।

‘पुरस्कारका लागि मेरो नाम साँच्चै विचार हुँदै छ भने, रेडियोधर्मी पदार्थको अनुसन्धानका लागि म मेरीसँगै विचार गरिन चाहन्छु,’ (पियर क्युरी १९०३) ।

सन् १९०३ डिसेम्बरमा भौतिकशास्त्रको नोबेल ‘रेडियोधर्मिता’का लागि दिइयो– आधा पुरस्कार बेकरेलले र आधा क्युरी दम्पतीले पाए । मेरी नोबेल पाउने पहिलो महिला बनिन् । पीएचडीमा गरेको रिसर्चका लागि कसैले नोबेल पाएको पनि मेरी मात्रै हुन् । आठ वर्षपछि सन् १९११ मा रेडियम र पोलोनियमको अनुसन्धानका लागि रसायनशास्त्रको नोबेल उनी एक्लैले पाइन् ।

पियरसँग गुमाउने केही थिएन । नाम उनको पहिल्यै चलेको थियो, प्रतिष्ठानले उनैलाई रोजेको थियो, र श्रेय स्वाभाविक रूपमा उनैतिर बगिरहेको थियो– उनले त्यसो गर्न चाहेनन् ।

तर, विज्ञानको इतिहास पल्टाउँदा पियरजस्ता मान्छे कमै भेटिन्छन् । तपाईंहामीले चिन्ने सबैभन्दा महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई नै हेर्दा पुग्छ । मेरीले नोबेल पुरस्कार पाएको दुई वर्षपछि उनले E=mc² लगायतका पाँचवटा रिसर्च पेपरहरू छपाएका थिए । हामीले सन् १९०५ लाई आइन्सटाइनको जादुई वर्ष भनेर चिन्छौँ ।

उनले पाएको एक मात्र नोबेल पुरस्कार (सन् १९२१ को) यही वर्षको सुरुमा निकालेको प्रकाशसम्बन्धी खोजका लागि थियो । सबै रिसर्च पेपरहरूमा गणितका काम श्रीमती मिलेभाले गरेकी थिइन् । तर, आइन्सटाइनका कुनै पनि रिसर्च पेपरमा मिलेभाको नाम कतै भेटिँदैन ।

घर्रामा लुकेको डीएनएको रहस्य

मेरीले पहिलो नोबेल पुरस्कार पाएको पचास वर्षपछि डीएनएको संरचना खोज्न अमेरिकाका लिनस पलिङ, अनि बेलायतका जेम्स वाट्सन, फ्रान्सिस क्रिक र मोरिस विल्किन्स लागिपरेका थिए । डीएनएको संरचना पत्ता लगाउन यी सबैको भन्दा महत्त्वपूर्ण योगदान रोजालिन्ड फ्र्याङ्कलिनले गरेकी छन्, तर त्यतिबेला उनको योगदानको कदर कसैले गरेनन् ।

सन् १९५३ जनवरीको सुरुमा पलिङले प्रकाशित गरेको डीएनएको मोडल २९ जनवरीमा क्याम्ब्रिजका वाट्सनले पढ्न पाएका थिए । भोलिपल्ट बिहानै ‘पलिङले पनि हाम्रैजस्तो काम नगर्ने डीएनएको मोडल सुझाएछ’ भनेर विल्किन्सलाई सुनाउन वाट्सन लन्डन पुगे । जाडो बिदामा खाली किङ्स कलेजमा रहेको विल्किन्सको प्रयोगशालामा उनीहरूले अब के गर्ने भनेर दिनभरि छलफल गरेर बसेका थिए ।

रोजालिन्डको प्रयोगशाला विल्किन्ससँगै थियो । उनले एक्कासि रोजालिन्डले झण्डै ८ महिनाअघि खिचेको डीएनएको फोटो सम्झन्छन् । रोजालिन्ड त्यस दिन ल्याबमा थिइनन् । उनले न अनुमति लिए, न रोजालिन्ड फर्किएपछि वाट्सनलाई फोटो देखाएँ भनेर उनलाई सुनाए नै । रोजालिन्ड र उनका विद्यार्थी रेमन्ड गोस्लिङले करिब ६० घण्टा लगाएर खिचेको फोटो–५१ वाट्सनले ३० जनवरी १९५३ मा देखेका थिए । फोटो–५१ ले नै डीएनए संरचना कसरी बनेको हुन्छ भनेर रहस्य खोलिदिएको हो ।

‘फोटो–५१’ देखेका वाट्सन हतारहतार क्याम्ब्रिज फर्के । लन्डनबाट फर्कने चिसो रेलमा उनले पत्रिकाको किनारामा त्यो फोटोको ‘एक्स’ सम्झीसम्झी कोर्दै आएका थिए । फोटो हेर्नेबित्तिकै वाट्सनलाई स्पष्ट भएको थियो– डीएनए दुईवटा त्यान्द्राको हेलिकल (डब्बल हेलिक्स) स्वरूपले बनेको हुन्छ । रोजालिन्डको फोटोले हेलिक्सको लम्बाइ, दुई न्युक्लियोटाइडबीचको दूरी, सबै कुरा थाहा हुन सक्थ्यो ।

वाट्सन र क्रिकका लागि रोजालिन्डले खिचेको फोटो–५१ ‘युरेका मोमेन्ट’ नै थियो । वाट्सनले पछि कतै भनेका छन्, ‘रोजालिन्डको ‘फोटो–५१’ देख्नेबित्तिकै मेरो मुख खुला भएको थियो, नसाहरूमा रगतको गति नै बढ्न थालेको थियो ।’

लन्डनबाट फर्किएको दुई दिनपछि उनीहरूले डीएनएको अनुसन्धान फेरि सुरु गरे । वाट्सन–क्रिकको डीएनएको संरचनाबारे पेपर ‘नेचर’मा २५ अप्रिल १९५३ मा छापिएको थियो । ‘नेचर’को त्यही संस्करणमा रोजालिन्ड र गोस्लिङको ‘फोटो–५१’ रिसर्च पेपर पनि छापिएको थियो । डीएनएको संरचना पत्ता लगाएको श्रेय र करिब एक दशकपछि सन् १९६२ को चिकित्साशास्त्रको नोबेल वाट्सन–क्रिक र विल्किन्सलाई दिइयो ।

फोटो–५१ खिचेकी रोजालिन्ड भने सन् १९५८ मै ३७ वर्षको उमेरमा संसारबाट बिदा भइसकेकी थिइन् । डीएनएबारे फेरि काम नगर्ने सर्तमा उनले सन् १९५३ मै किङ्स कलेज छोडिन्, र बाँकी समय भाइरसहरूबारे अनुसन्धान गर्दै बिताइन् । नोबेल पुरस्कार अझै पनि मृत वैज्ञानिकहरूलाई दिइँदैन । उनी बाँचेकी भए पनि पुरस्कार पाउने तीन जनामा उनी सायदै अटाउने थिइन् होला ।

काम कसको, नाम कसको ?

मैले रोजालिन्डको कथा धेरैपटक भनेको छु । तर, हरेकपटक रोजालिन्डको कथा भन्दा मैले बारम्बार एउटा गल्ती दोहोर्‍याएको छु । कथाको केन्द्रमा रोजालिन्डलाई राख्दा उनीसँगै काम गर्ने रोजालिन्डका पीएचडी विद्यार्थी रेमन्ड गोस्लिङलाई भने विरलै सम्झिएँ । डीएनएको ‘ए’ र ‘बी’ रूप पहिलोपटक छुट्याउन दुई जनाको उत्तिकै योगदान छ ।

२ मे १९५२ मा झण्डै ६० घण्टा लगाएर रोजालिन्ड र गोस्लिङले फोटो–५१ सँगै खिचेका हुन् । रोजालिन्डमाथि भएको अन्याय मैले सम्झिएँ, तर क्यामेराको छेउमा बसेको त्यो विद्यार्थीलाई भने मैले पनि बिर्सिरहेको रहेछु ।

रोजालिन्डमाथि भएको अन्याय मैले सम्झिएँ, तर क्यामेराको छेउमा बसेको त्यो विद्यार्थीलाई भने मैले पनि बिर्सिरहेको रहेछु ।

तर, रोजालिन्डको कथा यहीँ सकिँदैन । रोजालिन्डले पाउनुपर्ने नोबेल पुरस्कार नपाएको पनि यो पहिलोपटक होइन ।

सन् २०२४ मा चिकित्साशास्त्रको नोबेल पुरस्कार, माइक्रो आरएनए भनिने नयाँ प्रकारको आरएनए पत्ता लगाएबापत भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले पाएका थिए । नोबेल पुरस्कारको आधिकारिक ट्विटर खाताले लेख्यो– ‘एम्ब्रोसले यो खुसी सहकर्मी र श्रीमती रोजालिन्ड लीसँग मनाए ।’

सन् १९९३ मा आएको माइक्रो आरएनएबारे रिसर्च पेपरको मुख्य लेखिका रोजालिन्ड थिइन्, र अन्तिम नाम एम्ब्रोसको थियो । पुरस्कारले रोजालिन्डलाई बिर्सियो, एम्ब्रोसलाई मात्रै चिन्यो ।

गत वर्ष सन् २०२५ को चिकित्साशास्त्रको नोबेल दिँदा पनि यही घटना दोहोरिएको थियो । हाम्रो प्रतिरक्षा प्रणालीको नियामक कोष, टी–रेग (रेगुलेटरी टी सेल्स, ट्रेग) बारे खोज गरेबापत मेरी ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीले नोबेल पाए ।

साकागुचीको प्रयोगशालामा फक्सपी३ जिनले टी–रेगको विकास र काम नियन्त्रण गर्छ भनेर देखाउने रिसर्चर थिए– सोहेई होरी । सन् २००३ मा छापिएको टी–रेग र फक्सपी३ पेपरमा पहिलो नाम उनकै थियो, र अन्तिम नाम साकागुचीको । पुरस्कारका तीन कुर्सीमा उनी अटाएनन्, पुरस्कारले प्रयोगशालाका प्रमुख मात्रै चिनेको थियो ।

यद्यपि, पोहोर दिइएको पुरस्कारमा एउटा उल्टो कथा पनि लुकेको छ । सन् २००१ मा मुसामा फक्सपी३ जिन पहिचान गरेकी मेरीले भने नोबेल पाइन् । उनी कुनै विश्वविद्यालयकी प्राध्यापक होइनन्, एउटा कम्पनीमा काम गर्ने अनुसन्धानकर्ता थिइन् । विश्वविद्यालयबाहिरका कसैले नोबेल पुरस्कार पाएका आक्कलझुक्कल मात्रै भेटिन्छन् ।

म आफैँ अहिले न्यु योर्कको एउटा विश्वविद्यालयको प्रयोगशालामा रिसर्च गर्दै छु । हाम्रो संसारमा रिसर्च पेपरमा पहिलो नाम प्रायः रिसर्च गर्ने विद्यार्थी वा पोस्टडकको हुन्छ, जसले महिनौँसम्म प्रयोग दोहोर्‍याएर डेटा निकालेको हुन्छ । अन्तिम नाम प्रयोगशाला प्रमुख (पीआई) को हुन्छ, जसले अनुसन्धानको दिशा तय गर्ने काम र पैसा जुटाउने काम गरेका हुन्छन् । रिसर्च पेपरहरू जर्नलहरूमा प्रकाशित गर्दा पत्राचार गर्ने पनि उनीहरू नै हुन्छन् । र, पुरस्कार घोषणा हुँदा वा इतिहास लेखिँदा संसारले प्रायः उनैको नाम सम्झिन्छ ।

समाजशास्त्री रोबर्ट मर्टनले सन् १९६८ मै यसलाई ‘म्याथ्यु इफेक्ट’ भनेका थिए, जसको नाम पहिल्यै चल्छ, श्रेय पनि उतैतिर बग्छ । महिलामाथि यो झनै कडा रूपमा लाग्ने भएकाले इतिहासकार मार्गरेट रोसिटरले सन् १९९३ मा यसलाई ‘माटिल्डा इफेक्ट’ नाम दिइन् । इतिहास पल्टाउँदै जाँदा बोयडन, रोजालिन्ड र गोस्लिङको कथा अपवादजस्तो नलाग्न सक्छ ।

समाजशास्त्री रोबर्ट मर्टनले यसलाई ‘म्याथ्यु इफेक्ट’ भनेका थिए, जसको नाम पहिले चल्छ, श्रेय पनि उतैतिर बग्छ ।

प्रोफेसरलाई नाम, रिसर्चर गुमनाम

एक समय क्षयरोग (टीबी) लाग्नु भनेको मृत्युको पर्खाइजस्तै थियो । क्षयरोगको डर हटाउने पहिलो औषधि थियो स्ट्रेप्टोमाइसिन । सन् १९४३ मा अमेरिकाको रटगर्स विश्वविद्यालयका एक प्रोफेसरले टीबीका ब्याक्टेरियासँग काम गर्ने २३ वर्षे विद्यार्थीलाई भवनको तल्लो तलामा सबैबाट टाढा राखेका थिए ।

प्रोफेसर आफैँ त्यो प्रयोगशालामा पस्दैनथे । विद्यार्थी त्यहीँ दिनरात खटिए, कहिलेकाहीँ त्यहीँ सुते । उनैले केही महिनामै कुखुराको घाँटीबाट निकालेको ब्याक्टेरियाबाट स्ट्रेप्टोमाइसिन निकाले, जसले टीबीको ब्याक्टेरिया मार्न सक्थ्यो ।

प्रोफेसरको नाम हो सेलम्यान वाक्सम्यान, विद्यार्थी थिए अल्बर्ट स्याट्ज । सन् १९४४ मा छापिएको उनीहरूको पेपरमा पहिलो नाम विद्यार्थीकै थियो, पेटेन्टमा पनि दुवैको नाम थियो । प्रोफेसरले विद्यार्थीलाई एक डलरमा आफ्नो रोयल्टी विश्वविद्यालयलाई सुम्पन लगाए, अनि आफू भने चुपचाप २० प्रतिशत रोयल्टी लिइरहे । थाहा पाएपछि सन् १९५० मा विद्यार्थीले मुद्दा हाले र अदालतबाहिरको सम्झौतामा ‘सह–आविष्कारक’ को मान्यता पाए ।

आफ्नै प्रोफेसरविरुद्ध मुद्दा हालेपछि अमेरिकी विश्वविद्यालयहरूले उनलाई जागिर दिन हिचकिचाए । दुई वर्षपछि सन् १९५२ मा स्ट्रेप्टोमाइसिनको खोजका लागि चिकित्साशास्त्रको नोबेल वाक्सम्यानले एक्लै पाएका थिए । स्याट्जलाई भने करिब ५० वर्षपछि बल्ल रटगर्सले चिन्यो र सन् १९९४ मा सम्मान गरेको थियो ।

जोसेलिन बेल र मरेका ताराहरूको संकेत

मिहिनेत गर्ने विद्यार्थीले श्रेय नपाएको यस्तै उदाहरण भौतिकशास्त्रमा पनि पाइन्छ । सन् १९६७ मा क्याम्ब्रिजको कुनै खेतमा दुई वर्ष लगाएर सयौँ खम्बा र हजारौँ तारहरू जोडेर रेडियो टेलिस्कोप बनाइएको थियो ।

टेलिस्कोपले हरेक दिन आकाशबाट आएका संकेतहरू लामो कागजमा धर्का कोरेर रेकर्ड गर्थ्यो । टेलिस्कोपले कोरेका धर्काहरू पढेर आकाशको संकेत के हो भनेर खुट्याउने जिम्मा २४ वर्षीया जोसलिन बेलको थियो ।

अगस्टको एक दिन उनले कागजमा खस्रो, फोहोरजस्तो सेन्टिमिटरजति लामो धर्का देखिन् । अरुले भए सायद मेसिनको गडबडी भनेर पन्छाउँथे । उनले त्यो धर्का सम्झिराखिन्, फेरि त्यही ठाउँमा पर्खिन्, र फेरि भेटिन् । नजिकबाट रेकर्ड गर्दा त्यो संकेत ठीक १.३३ सेकेन्डको फरकमा घडीझैँ धड्किरहेको देखिने रहेछ । प्रकृतिमा यति नियमित केही होला भन्ने कसैलाई विश्वास भएन, त्यसैले मजाकमा त्यसलाई ‘एलजीएम–१’ (लिटिल ग्रीन मेन, ‘हरिया साना मान्छे’) नाम दिइयो । पछि थाहा भयो, त्यो अत्यन्त छिटो घुम्ने मरेको तारा (पल्सार) रहेछ ।

सन् १९६८ मा नेचरमा छापिएको पेपरमा पहिलो नाम उनका सुपरभाइजर एन्टोनी ह्युइसको थियो, उनको दोस्रो । सन् १९७४ मा भौतिकशास्त्रको नोबेल पुरस्कार ह्युइस र मार्टिन राइलले पाए । जोसलिनले आफैँ कहिल्यै गुनासो गरिनन्, विद्यार्थीलाई नोबेल दिनु असाधारण अवस्थामा मात्र ठीक हुन्छ भन्ने उनको भनाइ थियो ।

जोसलिनको योगदानको कदर पछि मात्रै भयो र पाएको पुरस्कारको प्रयोग पनि उनले त्यसैगरी गरिन् । सन् २०१८ मा ब्रेकथ्रु पुरस्कारबापत पाएको करिब ३० लाख डलर उनले पूरै भौतिकशास्त्र पढ्न चाहने पछाडि परेका समुदायका विद्यार्थीका लागि दान गरिदिइन् ।

लिसे माइटनर र हिउँमा गरिएको परमाणुको हिसाब

यस्तै, गुनासो नगर्ने अर्की भौतिकशास्त्री थिइन् लिसे माइटनर । दोस्रो विश्वयुद्धअघि नै उनी र उनका सहकर्मी अट्टो हानले न्युक्लियर फिसन (परमाणु विखण्डन) को काम गरिरहेका थिए । लिसे महिला पनि थिइन्, यहुदी पनि । झण्डै तीस वर्ष बर्लिनमा हानसँगै काम गरेकी लिसे सन् १९३८ जुलाईमा नाजी जर्मनीबाट ज्यान जोगाउन भागेर स्वीडेन पुगिन् ।

स्वीडेन पुगेपछि पनि लिसे र हानको काम चिट्ठीमार्फत चलिरह्यो । बर्लिनमा हान र उनका सहयोगी फ्रिट्ज स्ट्रासमानले युरेनियममा न्युट्रोनले हान्दा त्यहाँ बेरियम भेटे, युरेनियमभन्दा झण्डै आधा हलुका अर्को पदार्थ । सन् १९३८ डिसेम्बरमा हानले लिसेलाई त्यसको व्याख्या गर्न चिट्ठी लेखेर सोधेका थिए ।

त्यो वर्षको क्रिसमस बिदामा भौतिकशास्त्री भतिजा अट्टो फ्रिससँग स्वीडेनको हिउँमा घुम्दै, एउटा रुखको मुढामा बसेर लिसेले हिसाब गरिन् । युरेनियमको न्युक्लियस दुई टुक्रा भएको रहेछ र त्यसबाट निस्केको ऊर्जा आइन्सटाइनकै ई=एमसी२ले नाप्न सकिन्थ्यो । फ्रिसले यसलाई ‘फिसन’ नाम दिए । तर, सन् १९३९ जनवरीमा छापिएको हान र स्ट्रासमानको पेपरमा लिसेको नाम थिएन । उनको नाम राख्नु, नाजीहरूलाई उनले काम गरिरहेकी छन् भनेर भन्नु हुन्थ्यो ।

सन् १९४४ को रसायनशास्त्रको नोबेल पुरस्कार हानले एक्लै पाए, स्ट्रासमानको पनि नाम आएन । लिसेको नाम नोबेलका लागि झण्डै पचासपटक सिफारिस भएको थियो, तर उनले कहिल्यै पाइनन् । किन छुटिन् भन्ने कुरा हामीले धेरै पछि मात्र थाहा पायौँ । ५० वर्षसम्म गोप्य राखिने नोबेलका फाइल सन् १९९० को दशकमा खुलेपछि इतिहासकारहरूले लेखे, नोबेल कमिटीले भौतिकशास्त्र र रसायनशास्त्रको सिमानामा बसेको लिसेको योगदान बुझ्नै सकेनन् ।

नोबेलको सूचीमा लिसेको नाम छैन, तर पदार्थहरूको सूचीमा छ: तत्त्व नम्बर १०९, माइटनरियम ।

हुलाकमा पठाइएको हरियो चम्कने जिन

मजस्तै प्रतिरक्षा प्रणालीमा काम गर्नेहरूका लागि कोषलाई हरियो रङमा चम्काउने प्रोटिन (जीएफपी) दैनिक औजार हो । यो प्रोटिन एक जातको जेलिफिसबाट आएको हो, र सन् १९९२ मा त्यसको जीन पहिलोपटक छुट्याउने व्यक्ति थिए डगलस प्रासर । त्यही बेला उनको अनुसन्धान अनुदान सकियो । विज्ञान छोड्नुअघि उनले त्यो जिन सित्तैँमा हुलाकबाट दुई वैज्ञानिकलाई पठाइदिए: मार्टिन चाल्फी र रोजर चियन ।

सन् २००८ मा प्रोटिन पत्ता लगाउने ओसामु सिमोमुरा र जिनको अनुसन्धान गर्ने चाल्फी र चियनले रसायनशास्त्रको नोबेल पाउँदा प्रासर अलाबामाको एउटा कार पसलमा गाडी चलाइरहेका थिए । चाल्फी र चियनले भने उनलाई बिर्सेनन्, आफ्नै खर्चमा स्टकहोम बोलाए । पुरस्कार थाप्ने बेला प्रासर पनि त्यहीँ थिए, मञ्चमा होइन, दर्शकमाझ ।

पुरस्कार थाप्ने बेला प्रासर पनि त्यहीँ थिए, मञ्चमा होइन, दर्शकमाझ ।

सूची यहीँ सकिँदैन

यस्ता नाम गन्न थाले सूची सकिँदैन । तर, अरु केही नाम भने सम्झिनैपर्छ ।

सन् १९२१ मा क्यानडामा इन्सुलिन पत्ता लगाउने टोलीमा २२ वर्षे विद्यार्थी चार्ल्स बेस्ट थिए, तर दुई वर्षपछि नोबेल फ्रेडरिक ब्यान्टिङ र प्रयोगशाला प्रमुख जोन म्याक्लिओडले पाएका थिए । बेस्टको सट्टा म्याक्लिओडलाई पुरस्कार दिएको रिसमा ब्यान्टिङले प्रयोगशाला नै छोडे, आधा पुरस्कार बेस्टलाई दिए ।

त्यस्तै, अर्को उदाहरण क्यान्डेस पर्ट हुन्, पीएचडी रिसर्च गर्दा मस्तिष्कमा ओपिएट रिसेप्टर पत्ता लगाए पनि पुरस्कार उनका प्रोफेसरसहित तीन पुरुषले पाए ।

इतिहासझैँ विज्ञानले पनि महिलाहरूलाई नै बढी अन्याय गरेको छ । एक्स र वाई क्रोमोजोमले भाले वा पोथी तय गर्छ भनेर नेटी स्टिभेन्सले देखाएकी हुन्, पाठ्यपुस्तकमा भने दशकौँसम्म एडमन्ड बी विल्सनको नाम अगाडि रह्यो । डाउन सिन्ड्रोमका कारण पहिलोपटक मार्थ गोटिएरले माइक्रोस्कोपमुनि देखेकी थिइन्, तर संसारले भने सहकर्मी जेरोम लेजुनलाई चिन्यो ।

कतिजना पुरस्कार पाउनुअघि नै बितिसकेका हुन्छन् । कुष्ठरोगको पहिलो प्रभावकारी सुई बनाउने एलिस बल २४ वर्षमै बितिन्, र उनको विधि कलेजका प्रमुखको नाममा ‘डिन विधि’ भनेर चल्यो । ब्रह्माण्डको दूरी नाप्ने नियम भेट्ने हेनरिटा लिभिट पनि त नोबेलका लागि नाम सिफारिस हुनुअघि नै बितिसकेकी थिइन् ।

अनि हाम्रै छिमेकमा, ढाकाबाट आइन्सटाइनलाई आफ्नो गणित पठाउने सत्येन्द्रनाथ बोसको नाममा कणको एउटा परिवारकै नाम ‘बोसन’ रह्यो । बोसनसम्बन्धी खोजमा पछि धेरैले नोबेल पाए, बोसले भने कहिल्यै पाएनन् ।

एउटा मञ्च, तीन कुर्सी

नोबेलको आफ्नै गणित छ: एउटा मञ्च, बढीमा तीन कुर्सी र जीवित हुनैपर्ने सर्त ।

नोबेलबाट छुटेका वैज्ञानिकहरूको तालिका: एड बोयडन, सोहेई होरी, रोजालिन्ड ली, डगलस प्रासर, जोसलिन बेल, रोजालिन्ड फ्र्याङ्कलिन, अल्बर्ट स्याट्ज, लिसे माइटनर र चार्ल्स बेस्ट, र उनीहरूको सट्टा पुरस्कार पाउनेहरू
चौथो कुर्सी: काम गर्ने तर नोबेलको मञ्चबाट छुटेकाहरू (Created with Claude)।

तीन कुर्सीको नियम विज्ञान एक–दुई जना मिलेर गर्ने जमानामा बनेको थियो । आज एउटै रिसर्च पेपरमा दर्जनौँ, कहिलेकाहीँ सयौँ नाम हुन्छन्, तर नोबेलको मञ्चमा कुर्सी अझै तीनवटै छन् । यस वर्ष एड बोयडनका लागि र सन् २००८ मा डगलस प्रासरका लागि चौथो कुर्सी थिएन ।

जीवित हुनैपर्ने सर्तले रोजालिन्ड फ्र्याङ्कलिन, लिसे र हेनरिटा लिभिटलाई सधैँका लागि बाहिर राख्यो । तर, यो सर्त कति अनौठो छ भन्ने सन् २०११ मा देखिएको थियो । त्यस वर्ष हाम्रो प्रतिरक्षा प्रणालीको डेन्ड्राइटिक कोष पत्ता लगाउने राल्फ स्टाइनम्यानलाई चिकित्साशास्त्रको नोबेल घोषणा भयो । समितिलाई थाहै थिएन, तर, उनको मृत्यु तीन दिनअघि नै भइसकेको थियो । नोबेल फाउन्डेसनले पुरस्कार उनकै नाममा रहन दियो । अर्थात्, कसले नोबेल पाउने भन्ने कुरा कहिलेकाहीँ योगदानले होइन, मृत्युको खबर स्टकहोम कहिले पुग्यो भन्नेले तय गर्दो रहेछ ।

तर, सबैभन्दा ठूलो खाडल कुनै लिखित नियममा होइन, विज्ञानको अलिखित चलनमा छ । अल्बर्ट स्याट्ज, क्यान्डेस पर्ट, रोजालिन्ड ली, सोहेई होरी र एड बोयडन सबै आफ्नो खोजको रिसर्च पेपरमा पहिलो नाम थिए । पुरस्कार भने अन्तिम नाम, अर्थात् करस्पन्डिङ अथरतिर गयो । करस्पन्डिङ अथर भनेको पत्रिकाको सम्पादकसँग पत्राचार गर्ने, रिसर्च पेपरको जिम्मेवारी लिने व्यक्ति हो, खोज कसले गर्‍यो भन्ने प्रमाण होइन । तर, समयसँगै अनुदान, पुरस्कार र इतिहास सबैले त्यही ठेगानालाई खोजकर्ता मान्न थाले ।

सबैभन्दा ठूलो खाडल कुनै लिखित नियममा होइन, विज्ञानको अलिखित चलनमा छ ।

सबै प्रयोगशाला प्रमुख श्रेय खोस्नेहरू हुँदैनन् । साकागुची र डाइसरोथले आफ्नो क्षेत्र दशकौँ खटेर बनाएका हुन् । तर, संरचना यस्तो बनिसकेको छ कि श्रेय कसैले खोस्नै पर्दैन, आफैँ जोमाथि छ उसैलाई खोज्दै बग्छ ।

सवा सय वर्षअघि पियर क्युरीको एउटा चिट्ठीले यो चलनलाई नकारेको थियो । उनीपछि त्यस्तो चिट्ठी लेख्ने विरलै भेटिए । सन् १९२३ मा ब्यान्टिङले आफ्नो पुरस्कारको आधा रकम बेस्टसँग बाँडे, सन् २००८ मा चाल्फी र चियनले प्रासरलाई स्टकहोम बोलाए । तर, ती अपवाद नै रहे ।

अर्को वर्ष अक्टुबरको सुरुमा स्टकहोमबाट फेरि नोबेल पाउनेहरूको नाम घोषणा हुनेछ । त्यस दिन पुरस्कार पाउनेहरूको नाम पढिसकेपछि एकपटक उनीहरूको रिसर्च पेपर खोलेर हेर्नुहोला, पहिलो नाम कसको छ । सायद त्यहाँ कुनै बोयडन, कुनै होरी, कुनै रोजालिन्ड भेटिनुहोला ।

नोबेलले उनीहरूको नाम पढ्दैन । हामी त पढौँ ।

धेरैले सोध्ने प्रश्न

नोबेल पुरस्कार कति जनाले बाँड्न पाउँछन्?

बढीमा तीन जनाले। मरिसकेका व्यक्तिलाई पनि पुरस्कार दिइँदैन, तर घोषणापछि बितेको भए पुरस्कार रहन्छ। सन् २०११ मा घोषणाभन्दा तीन दिनअघि नै बितिसकेका राल्फ स्टाइनम्यानको पुरस्कार भने नोबेल फाउन्डेसनले कायम राख्यो।

एड बोयडनले सन् २०२६ को नोबेल किन पाएनन्?

नोबेल समितिले आफ्नो छनोटको कारण भन्दैन। पुरस्कार डाइसरोथ, हेगेम्यान र नागेलले पाए। तीन कुर्सी मात्र भएकाले अप्टोजेनेटिक्स सुरु गर्ने सन् २००५ को पेपरका पहिलो लेखक बोयडनका लागि ठाउँ रहेन।

विज्ञानमा ‘म्याथ्यु इफेक्ट’ भनेको के हो?

समाजशास्त्री रोबर्ट मर्टनले सन् १९६८ मा दिएको नाम: पहिल्यै चर्चित वैज्ञानिकतिरै श्रेय बग्ने चलन। महिलामाथि यो झन् कडा रूपमा लाग्ने भएकाले इतिहासकार मार्गरेट रोसिटरले सन् १९९३ मा यसलाई ‘माटिल्डा इफेक्ट’ भनिन्।

के मेरी क्युरी पहिलो नोबेलबाट छुट्न लागेकी थिइन्?

हो। सन् १९०३ को सिफारिसमा हेनरी बेकरेल र पियर क्युरीको नाम मात्र थियो। गोस्टा मिट्टाग-लेफ्लरले खबर गरेपछि पियरले मेरीसँगै विचार गरियोस् भनेर चिट्ठी लेखे, र मेरीले पनि पुरस्कार पाइन्।

फोटो–५१ कसले खिचेका हुन्?

रोजालिन्ड फ्र्याङ्कलिन र उनका पीएचडी विद्यार्थी रेमन्ड गोस्लिङले, सन् १९५२ मे मा लन्डनको किङ्स कलेजमा। मोरिस विल्किन्सले सन् १९५३ जनवरीमा रोजालिन्डलाई थाहै नदिई त्यो फोटो जेम्स वाट्सनलाई देखाए।

यो पनि पढ्नुहोस्

Get new pieces by emailNepali and English, whenever there is something worth sending. No spam.

Subscribe

Comments

Comments

Recent posts

Archive & Series

Loading…

Archives

Most read

Tags