बासभ

बासभ

@naharchowck

ImmunotherapyMolecular BiologyOccasional WriterOccasional Photographer

Stories from history, science, and the in-between.

Still in search of sleep, sanity and the Shire.

A cage went in search of a bird.Kafka

हाम्रो शरीरमा डेरा जमाएर बस्ने भाइरस र जोडिएका क्यान्सरको कथा (भाग १): भाइरस, क्यान्सर र मानिसमा भेटिएको पहिलो अन्कोभाइरस

Written by बासभ
New pieces by email, Nepali and English.Subscribe

यो लेख पहिलो पटक २०८३ कात्तिक १५ गते शिलापत्रमा “बासभ : समयको उत्खनन” स्तम्भमा प्रकाशित भएको थियो।

शिलापत्रमा प्रकाशित बासभ : समयको उत्खनन स्तम्भको हेडर, ईबीभी पोजिटिभ लेखिएको रगतको नमुना र लेखक प्रवेश खतिवडाको तस्बिर
शिलापत्रमा प्रकाशित लेखको हेडर ।

हामी धेरैलाई लाग्छ, क्यान्सर चुरोट, रक्सी, खानामा मिसिएको विषादी वा वंशाणुगत रूपमा सरेका डीएनएका गल्तीहरूबाट हुने रोग हो। यी सबै क्यान्सरका कारण हुन्। तर, क्यान्सरका कारण यति मात्रै होइनन्।

एउटा अर्को पनि कारण छ, जसबारे हामी धेरैलाई थाहा नहुन सक्छ। त्यो हो, भाइरसको संक्रमण। सुन्दा अचम्म लाग्न सक्छ, संसारका हरेक आठमध्ये करिब एक नयाँ क्यान्सरको पछाडि कुनै न कुनै संक्रमणको कारणले हुन्छ।

रुघाखोकी गराउने धेरैजसो भाइरस हाम्रो शरीरमा स्थायी रूपमा बस्दैनन्। संक्रमण हुन्छ, भाइरसले आफ्नो संख्या बढाउँछ, हाम्रो प्रतिरक्षा प्रणालीले त्यसलाई नियन्त्रण गर्छ र केही समयपछि हामी निको हुन्छौँ। तर सबै भाइरसको कथा यस्तो हुँदैन। केही भाइरस यस्ता पनि हुन्छन्, जसले हाम्रो शरीरमा एकपटक संक्रमण गरेपछि लुकेर वर्षौँसम्म र कतिपय अवस्थामा जीवनभर डेरा जमाएर बस्न सक्छन्।

छोटकरीमा

  • संसारका हरेक आठमध्ये करिब एक नयाँ क्यान्सर कुनै न कुनै संक्रमणका कारण हुन्छ।
  • डीएनएमा गल्ती थुप्रिँदै गएपछि कोषहरू मनमौजी रूपमा विभाजित हुन्छन्, यही नै क्यान्सर हो।
  • सन् १९०९–११ मा पेटन राउसले कुखुराको ट्युमरमा क्यान्सर गराउने भाइरस भेटे।
  • सन् १९६४ मा एप्स्टेन, अचोङ र बारले मानिसमा क्यान्सरसँग जोडिएको पहिलो भाइरस, ईबीभी, भेटे।
  • भाइरस शरीरमा हुनु र क्यान्सर हुनु एउटै कुरा होइन; टी–सेलले धेरैजसोलाई जोगाइरहेका हुन्छन्।

पाठेघरको मुखको क्यान्सर, कलेजोको क्यान्सर, आमाशयको क्यान्सर र अरू केही क्यान्सर यसका उदाहरण हुन्। केही क्यान्सर भाइरसका कारण हुन्छन् र केही ब्याक्टेरियाका कारण। तर, शरीरमा भाइरस हुनु र क्यान्सर हुनु एउटै कुरा होइन।

आखिर, शरीरमा लुकेर बसेको सामान्य भाइरसले क्यान्सरजस्तो गम्भीर रोग कसरी निम्त्याउँछ? यसको उत्तर बुझ्नभन्दा पहिले हाम्रो शरीरभित्र क्यान्सर कसरी हुन्छ, त्यो बुझ्न जरुरी हुन्छ।

क्यान्सर के हो?

हाम्रो शरीर खर्बौँ कोष मिलेर बनेको हुन्छ। हरेक कोषभित्र एउटा निर्देशनपुस्तिका हुन्छ, जसलाई डीएनए (DNA) भनिन्छ। कोष कहिले बढ्ने, कहिले विभाजित हुने, कहिले आफ्नो काम गर्ने र कहिले नष्ट हुने; नियमन डीएनएमा भएका जीनहरूले गरिरहेका हुन्छन्।

जस्तै- हात काटियो भने घाउ वरिपरिका कोष विभाजित हुन्छन्। घाउ वरिपरि नयाँ कोष बनेर घाउ पुर्छन्। घाउ पुरिएपछि कोषविभाजन पनि रोकिन्छ। यसरी शरीरले कोष बनाउने र हटाउने प्रक्रियाबीच सन्तुलन कायम राखेको हुन्छ। आवश्यक पर्दा कोषहरू विभाजित हुन्छन् र काम सकिएपछि रोकिन्छन्। कतिबेला के गर्ने भन्ने निर्देशन कोषभित्रकै डीएनएले गरिरहेको हुन्छ।

कुनै कारणले डीएनएमा परिवर्तन आयो भने कोषविभाजन बढाउने र त्यसलाई नियन्त्रण गर्ने प्रणालीमा गडबडी हुन सक्छ। सामान्य अवस्थामा कोषविभाजन रोक्नुपर्ने सङ्केतले काम गर्न छाड्छ वा निरन्तर विभाजित हुन उक्साउने सङ्केत सक्रिय हुन सक्छन्। डीएनएको क्षति मर्मत गर्ने प्रणालीसमेत बिग्रियो भने यस्ता परिवर्तन अझै थपिँदै जान्छन्।

यसरी डीएनएका गल्तीहरू थपिँदै जाँदा कोषहरू मनमौजी बन्छन्। निरन्तर विभाजित भइरहेर ट्युमर (गाँठो) बनाउँछन् र शरीरका अरू भागमा पनि फैलिन सुरु गर्छन्। क्यान्सर भनेको नै यही हो- कोषहरूको मनमौजी विभाजन।

क्यान्सर भनेको नै यही हो- कोषहरूको मनमौजी विभाजन।

चुरोटको धुवाँ, घामको पराबैजनी किरण र केही रासायनिक पदार्थले डीएनएमा यस्तो क्षति गर्न सक्छन्। क्यान्सरको जोखिम बढाउने यी बाहिरी तत्त्वलाई क्यान्सरकारक तत्त्व वा कार्सिनोजिन (carcinogen) भनिन्छ। तर डीएनएमा परिवर्तन ल्याउने सबै कारण बाहिरबाट आउनुपर्दैन।

कोष विभाजन हुँदा डीएनएको प्रतिलिपि बनाउने क्रममा पनि गल्ती हुन सक्छ। हाम्रो शरीरले हरेक दिन अर्बौँ नयाँ कोष बनाउँछ, र प्रत्येक पटक पूरै डीएनएको नयाँ प्रतिलिपि बनाउनुपर्छ। हाम्रा कोषहरू यो काममा निकै सिपालु छन्, तर हजारौँ पानाको किताब अनगिन्ती पटक सार्दा कतै न कतै अक्षर छुटिहाल्छ नै।

त्यसैगरी, केही भाइरसले कोषको विभाजन गर्ने प्रणालीलाई नै अपहरण गर्न सक्छन्: केहीले विशेष जीनका गतिविधि बदल्छन्, केहीले डीएनएमा आफ्नै डीएनए घुसाउँछन्। अनि केही भाइरस डीएनएभित्र छिर्न नसके पनि शरीरका विभिन्न कोषहरूमा जीवनभर लुकेर बस्न सक्छन्। केहीले लुकेका कोषहरूमा निरन्तर सूजन(Inflammation) गराउँछन्, र क्यान्सरका लागि अनुकूल वातावरण बनाइदिन्छन्। केही जीवनभर निदाएर बसेका हुन्छन्, र शरिरको प्रतिरक्षा प्रणाली तलमाथी भयो भने मात्रै बिउँझन्छन् र आफू लुकेर बसेको कोषको मनमौजी विभाजन सुरु गरिदिन्छन्।

हाम्रो शरीरमा क्यान्सर गराउन सक्ने क्षमता भएका यस्ता भाइरसलाई अंकोभाइरस (oncovirus) भनिन्छ। यिनले गर्ने काम एउटै हुँदैन, तर यिनिहरु सक्रिय भए परिणामस्वरूप कोषको नियमन बिग्रिन्छ र क्यान्सर बन्न सक्छ।

भाइरसले क्यान्सर गराउँछ भनेर हामीले थाह पाएको मान्छेमा होइन, क्यान्सरजन्य भाइरसको खोज एउटा कुखुराबाट सुरु भएको थियो।

कुखुराको गाँठोमा भेटाइएको क्यान्सरजन्य भाइरस

सन् १९०९ मा एक अमेरिकी किसान छातीमा ट्युमर पलाएको आफ्नो कुखुरा लिएर न्युयोर्कका डाक्टर पेटन राउस(Peyton Rous) कहाँ पुगेका थिए। राउसले त्यो ट्युमर निकालेर पिसे। ब्याक्टेरियासम्म छिर्न नसक्ने चाल्नीबाट छाने, र छानिएको सफा झोल अर्को स्वस्थ कुखुरामा सुईबाट हाले।

केही हप्तापछि स्वस्थ कुखुरामा पनि उस्तै ट्युमर पलायो।

यो साधारण प्रयोग थिएन। ट्युमर पिसेर बनाइएको झोलमा ट्युमरका कोष थिएनन्। ब्याक्टेरिया पनि चाल्नीबाट छानिइसकेका थिए। तैपनि रोग सरेको थियो। त्यसैले राउसले ट्युमर गराउने कारक आफूले देख्न नसकेको, चाल्नीबाट छिर्न सक्ने अत्यन्त सानो कण हुन सक्ने निष्कर्ष निकाले।

पछि त्यो कारक भाइरस भएको पुष्टि भयो। त्यसलाई राउस सार्कोमा भाइरस भनियो। तर त्यस समयका वैज्ञानिकले कुखुरामा भएको यो प्रयोगलाई मानिसको क्यान्सरसँग जोडेर हेर्न सजिलै मानेनन्। भाइरसले पनि क्यान्सर गराउन सक्छ भन्ने विचार स्थापित हुन धेरै समय लाग्यो। भाइरसले क्यान्सर गराउँछ भनेर सन् १९११ मै देखाएका राउसले नोबेल पुरस्कार पाउन अर्को ५५ वर्ष कुर्नुपरेको थियो।

भाइरसले क्यान्सर गराउँछ भनेर सन् १९११ मै देखाएका राउसले नोबेल पुरस्कार पाउन अर्को ५५ वर्ष कुर्नुपरेको थियो।

उसो त भाइरस आफैँ पत्ता लागेको इतिहास पनि यस्तै छ। उन्नाइसौँ शताब्दीको अन्त्यतिर युरोपका सुर्ती किसानलाई पातमा छिर्केमिर्के दाग देखिने टोबाको मोजाइक रोगले सताएको थियो। रोग लागेको पात पिसेर अर्को स्वस्थ बिरुवामा लगाउँदा रोग सर्थ्यो। तर माइक्रोस्कोपमा हेर्दा त्यसको कारण हुनसक्ने कुनै ब्याक्टेरिया भेटिँदैनथ्यो।

सन् १८९२ मा रुसी वैज्ञानिक दिमित्री इभानोभ्स्कीले रोग लागेको पातको रस ब्याक्टेरिया छिर्न नसक्ने चाल्नीबाट छाने। छानिएको रसले पनि रोग सारेपछि उनले रोगको कारक सामान्य ब्याक्टेरियाभन्दा सानो हुन सक्ने सम्भावना देखाए। सन् १८९८ मा डच वैज्ञानिक मार्टिनस बेइजेरिङ्कले उही प्रयोग दोहोर्‍याएर यो ब्याक्टेरियाभन्दा फरक, नयाँ किसिमको रोग सार्ने चीज हो भन्ने निष्कर्ष निकाले र त्यसलाई 'भाइरस' भने।

भाइरस ल्याटिन शब्द हो, र यसको अर्थ विषाणु हुन्छ। राउसले पछि कुखुराको ट्युमरमा पनि यही तरिका प्रयोग गरेका थिए। भाइरसलाई मान्छेले पहिलो पटक आँखाले देख्न भने सन् १९३९ मा इलेक्ट्रोन माइक्रोस्कोपबाट टोबाको मोजाइक भाइरसको तस्बिर नखिचिएसम्म कुर्नुपर्‍यो।

मान्छेमा भेटिएको पहिलो क्यान्सर भाइरस

सन् १९५० को दशकमा युगान्डामा काम गरिरहेका चिकित्सक डेनिस बर्किट (Denis Burkitt)ले बालबालिकाको बङ्गारा असामान्य रूपमा सुन्निने एउटा आक्रामक क्यान्सर देखेका थिए। अफ्रिकाका विभिन्न क्षेत्रमा यो रोग कहाँ बढी देखिन्छ भनेर नक्सामा उतार्दा उनले एउटा भौगोलिक ढाँचा भेटे। गर्मी र धेरै वर्षा हुने, लामखुट्टे धेरै हुने र औलो व्यापक रूपमा फैलिने क्षेत्रमा यो क्यान्सर बढी देखिन्थ्यो।

बर्किटले लामखुट्टेले सार्ने कुनै संक्रमण यस रोगसँग सम्बन्धित हुन सक्ने अनुमान गरे। उनले देखेको बङ्गाराको क्यान्सरलाई अहिले बर्किट लिम्फोमा(Burkitt lymphoma) भनिन्छ। यसको कारण भने लामखुट्टेले सीधै क्यान्सर गराउने भाइरस सार्ने कुरा नभई, औलो र अर्को भाइरसबीचको जटिल सम्बन्ध रहेको केही वर्षपछि मात्रै थाहा भयो।

सन् १९६१ मा लन्डनमा बर्किटले आफ्नो खोजबारे प्रस्तुत गर्दा दर्शकदीर्घामा रोगको कारण खोजिरहेका एन्थोनी एप्स्टेन (Anthony Epstein) पनि थिए। उनले बर्किटबाट क्यान्सरका नमुना मगाएर अनुसन्धान सुरु गरे।

सन् १९६४ मा उनी र उनका सहकर्मी बर्ट अचोङ (Bert Achong) र इभोन बार (Yvonne Barr)ले इलेक्ट्रोन माइक्रोस्कोपमा हेर्दा क्यान्सर कोषभित्र एकखाले भाइरस भेटाए। मान्छेमा क्यान्सरसँग जोडिएको पहिलो भाइरसलाई आज हामी एप्स्टेन–बार भाइरस (Epstein–Barr virus) वा छोटकरीमा ईबीभी (EBV) भन्छौँ।

आज ईबीभीले मानिसको शरीरमा कस्तो भूमिका खेल्छ भन्ने धेरै कुरा बुझिसकिएको छ। तर यसको कथाभन्दा पहिले एउटा महत्त्वपूर्ण कुरा विचार गर्नुपर्छ: शरीरमा भाइरसले संक्रमण गर्नु, कोषहरूमा डेरा जमाएर बस्नु र त्यसबाट क्यान्सर बन्नु तीन फरक-फरक घटना हुन्।

शरीरमा भाइरसले संक्रमण गर्नु, कोषहरूमा डेरा जमाएर बस्नु र त्यसबाट क्यान्सर बन्नु तीन फरक-फरक घटना हुन्।

अङ्कोभाइरस अरू भाइरसभन्दा के फरक छन्?

क्यान्सर गराउन सक्ने ईबीभी जस्ता भाइरसहरूलाई अङ्कोभाइरस (oncovirus) भनिन्छ। ग्रीक शब्द 'ओन्कोस' (onkos)को अर्थ ट्युमर वा गाँठो हो, अर्थात् ट्युमर बनाउन सक्ने भाइरस। अहिलेसम्म मान्छेमा क्यान्सरसँग पक्का जोडिएका सात भाइरस भेटिएका छन्। तर यिनलाई बुझ्नभन्दा पहिले अरू भाइरसहरू कस्ता हुन्छन् त्यो बुझ्नुपर्छ।

भाइरस आफैँमा निर्जीव कण हो, आँफै बाँच्न र आफ्नो संख्या बढाउन सक्दैन। त्यसका लागि यसलाई जीवित कोष चाहिन्छ। यसले कुनै जीवित कोषभित्र पसेर त्यही कोषको यन्त्र प्रयोग गरेर मात्रै आफ्ना प्रतिलिपि बनाउन सक्छ।

रुघाखोकी, इन्फ्लुएन्जा वा कोभिडका भाइरस छोटो बसाइका पाहुना हुन्। कोषमा पस्छन्, धेरै प्रतिलिपि बनाउँछन्, कोषलाई फुटाएर मार्छन् र अर्को मान्छे खोज्दै निस्किहाल्छन्। त्यसपछि शरीरको प्रतिरक्षा प्रणालीले तिनलाई नियन्त्रण गर्छ र केही दिनमै धपाइहाल्छ। प्रतिरक्षा प्रणालीमा संक्रमणको प्रभाव र स्मरण भने लामो समयसम्म बसिरहेको हुन्छ।

तर हर्पिस परिवारका ईबीभीजस्ता केही भाइरसले भने संक्रमणपछि आफ्नो आनुवंशिक सामग्री (डीएनए) शरीरका कोषमा निष्क्रिय अवस्थामा कायम राख्न सक्छन्। तिनले कोष तुरुन्तै मार्दैनन्, बरु त्यसैभित्र डेरा जमाएर वर्षौँसम्म बस्छन्। यस अवस्थालाई सुसुप्त संक्रमण भनिन्छ। यस्तो भाइरस समय–समयमा पुनः सक्रिय हुन सक्छ, यद्यपि त्यसले सधैँ लक्षण देखाउँछ भन्ने हुँदैन।

यस्ता भाइरसका लागि जति धेरै कोष, उति धेरै घर। त्यसैले त तिनले कोषलाई विभाजित हुन उक्साउँछन्- गाडीको ब्रेक खुकुलो पारेर एक्सेलेरेटर थिचे जस्तै। हेपाटाइटिसका भाइरस जस्तै केहीले भने त्यसो गर्दैनन्, बरु कलेजोलगायतका अङ्गहरूमा वर्षौँसम्म घाउ र सुजन (inflammation) गराइराखेर क्यान्सरको बाटो सजिलो बनाउँछन्। सबै क्यान्सरजन्य भाइरसले एउटै तरिकाले काम गर्दैनन्।

तर शरीरमा भाइरसले डेरा जमाएर बसेको छ भन्दैमा मात्रै क्यान्सर हुँदैन। हाम्रो शरीरको प्रतिरक्षा प्रणालीमा टी–सेल (T cell) नामका कोषहरू हुन्छन्, जसले शरीरको पहरेदारको काम गर्छन्। यिनीहरू अस्वाभाविक व्यवहार गर्ने कोषहरूलाई खोज्दै बसेका हुन्छन् र थाहा पाउनेबित्तिकै मारिदिन्छन्।

त्यसैले त हामी धेरैमा अङ्कोभाइरस भए पनि धेरैजसोलाई कहिल्यै क्यान्सर हुँदैन। भाइरसले उक्साइरहेको कोषमा अरू गल्ती पनि थपिँदै जाँदा र प्रतिरक्षा प्रणालीले बिग्रिएका कोषहरूलाई समात्न नसक्दा मात्रै क्यान्सर हुन्छ। त्यसैले भाइरसजन्य क्यान्सर प्रायः संक्रमण भएको दशकौँपछि, धेरैजसो बुढेसकालमा देखा पर्छ, जब शरीरका पहरेदारहरू थाकिसकेका हुन्छन्।

रोचक कुरा त के छ भने, क्यान्सरबाट भाइरसलाई कुनै फाइदा हुँदैन। क्यान्सर आफैँ भाइरस फैलाउने उपाय होइन, क्यान्सरले भाइरसलाई अर्को मान्छेसम्म पुर्‍याउँदैन। भाइरसका लागि क्यान्सर एउटा दुर्घटना मात्र हो।

भाइरसका लागि क्यान्सर एउटा दुर्घटना मात्र हो।

संसारका अधिकांश मानिसमा इबीभी भाइरस छ, तर थोरैलाई मात्रै क्यान्सर हुन्छ। हामीले थाह पाएको इबिभीबाहेक अरू ६ वटा भाइरस र एउटा ब्याक्टेरीयाले क्यान्सर गराउन सक्छन्। हामी प्राय: सबैको शरिरमा डेरा जमाएर बस्ने यिनै क्यान्सरजन्य भाइरस, तिनले गराउने क्यान्सर र बाच्ने उपायको बारेमा म अर्को भागमा लेख्नेछु।

धेरैले सोध्ने प्रश्न

के भाइरसले क्यान्सर गराउँछ?

केही भाइरसले गराउन सक्छन्। यिनलाई अंकोभाइरस भनिन्छ। संसारका करिब आठमध्ये एक नयाँ क्यान्सरको पछाडि कुनै न कुनै संक्रमण हुन्छ।

मानिसमा भेटिएको पहिलो क्यान्सर भाइरस कुन हो?

एप्स्टेन–बार भाइरस (ईबीभी)। सन् १९६४ मा बर्किट लिम्फोमाका नमुनामा एन्थोनी एप्स्टेन, बर्ट अचोङ र इभोन बारले यो भाइरस भेटेका थिए।

अंकोभाइरस कति वटा छन्?

अहिलेसम्म मानिसमा क्यान्सरसँग पक्का जोडिएका सात भाइरस भेटिएका छन्: ईबीभी, केएसएचभी, एचपीभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, एचटीएलभी–१ र मर्केल सेल पोलियोमाभाइरस।

भाइरस शरीरमा भए क्यान्सर हुन्छ नै?

हुँदैन। धेरैजसो मानिसमा भाइरस भए पनि टी–सेलले असामान्य कोषलाई समातिरहन्छन्। अरू गल्ती थपिँदै गएर प्रतिरक्षा कमजोर भएपछि मात्र क्यान्सर हुन्छ।

यो पनि पढ्नुहोस्

Get new pieces by emailNepali and English, whenever there is something worth sending. No spam.

Subscribe

Comments

Comments

Recent posts

Archive & Series

Loading…

Archives

Most read

Tags