भित्तीले पुच्छरको नक्कल बनाउँछ । पूर्वी पहाडको थकथकेले (सालामान्डर) काटिएको खुट्टा हड्डी, नसा र औँलासहित पहिलेकै जस्तो बनाउन सक्छ । त्यही निर्देशन हाम्रो डीएनएमा पनि छ, तर जन्मेपछि त्यसमाथि साँचो लगाइएको छ ।
यो लेख पहिलो पटक २०८३ साउन २६ गते शिलापत्रमा प्रकाशित भएको थियो। मूल लेख पढ्न: https://shilapatra.com/detail/192284

थकथकेले काटिएको खुट्टा कसरी फेरि उमार्छ: एक नजरमा।
सालामान्डरसँग स्कुल बेला भएको मेरो भेट
सालामान्डरसँग मेरो साक्षात्कार सानै बेला भएको थियो । स्कुल बेलैको कुरा हो, कक्षा ६ को जाँचपछि छुट्टीमा घरमा भएको किताबको आल्मारी खोतल्न सुरु गरेँ । त्यही बेला हिन्दीमा लेखिएको पुरानो विज्ञान पत्रिका भेटाएको थिएँ ।
पत्रिकाको नाम याद छैन, कथाको शीर्षक बिर्सिसकेँ, कथाका नायकको नाम पनि भुलिसकेँ । दुर्घटनामा हातखुट्टा गुमाएका एक जना वैज्ञानिकले सालामान्डरको हराएको अंग फेरि उमार्ने क्षमताको प्रयोग आफूमाथि गरेको बारेमा कथा थियो । कथाको अन्त्यमा ती जीव वैज्ञानिक सफल भए कि असफल, त्यो पनि सम्झना छैन । तर, सालामान्डरसँग मेरो सम्बन्ध त्यहीँबाट टाँसिएको थियो ।
सालामान्डरको यही अद्भूत क्षमताले ममा जीवविज्ञान पढ्ने हुटहुटी जगेको हो । कथा पढेको धेरैपछिसम्म त सालामान्डरले काटिएका अंग फेरि उमार्नु कथाकारको कल्पना मात्रै ठानेर बसेँ । प्लस टुमा सालामान्डरबारे साँच्चिकै पढेपछि थाहा पाएँ- यिनीहरूमा साँच्चिकै चोट निको पार्ने अद्भूत क्षमता हुन्छ । सालामान्डरको हातखुट्टा, पुच्छर र शरीरका अरु अंग काटियो भने केही महिनामै पहिलेकै जस्तो फर्कन सक्छ ।
कथामा, सालामान्डरमा हुने त्यो क्षमता मान्छेमा सार्नुचाहिँ साँच्चिकै कल्पना मात्रै हो, स्पाइडरम्यानको त्यो लिजार्डवाला खलनायकको जस्तो ।
सालामान्डर र भित्ती एकै होइनन्
मैले स्कुल सक्ने बेलासम्म सालामान्डर भित्तीकै दाजुभाइ हुन् भनेरै बिताएँ- उसको पनि त नयाँ पुच्छर उम्रन्छ । तर, यी दुई दाजुभाइ त परै जाओस्, प्राणीजगत्को एउटै वर्गमा पनि नपर्ने रहेछन् ।
भित्ती र छेपारो सरीसृप (Reptile) हुन्- सुक्खा कत्ला भएको छाला, फुल पार्ने, जमिनमै जन्मेर जमिनमै हुर्कने । सालामान्डर भ्यागुताको आफन्त, उभयचर (Amphibian) हो- चिप्लो छाला, पानीमा फुल पार्ने, भुरा पनि चेपागाँडाजस्तै पानीमै हुर्कने ।
सालामान्डर र भित्ती दुवैमा काटिएको पुच्छर उमार्ने बानी भेटिनु एकआपसका आफन्त भएर होइन, दुई फरक बाटोबाट आइपुगेको संयोग हो । अनि, भित्तीले उमार्ने पुच्छर पनि पुरानो पुच्छर होइन, त्यो कुरा पछि आउँछ ।
सालामान्डर अर्थात् माईपोखरीको थकथके
अनि त्यसको निकैपछि मात्रै थाहा पाएको थिएँ- सालामान्डर कुनै टाढा किताबभित्रको जीव मात्र होइन रहेछ । हाम्रै इलामको माईपोखरीमा कति धेरै पाइन्छ । करिब बीस सेन्टिमिटर लामो हुन्छ- खस्रो कालो छाला, त्यसमा सुन्तला रङको दाग । गोहीको जस्तै टाउको र कोखामा हड्डी उठेको हुन्छ । गोहीजस्तै देखिने टाउको र शरीर भएकै कारण थकथकेलाई क्रोकोडाइल न्युट पनि भनिन्छ ।
संसारभरि सालामान्डरका करिब आठ सय प्रजाति छन् । युरोपतिर पाइने र धेरै अध्ययन गरिएको सालामान्डर- न्युट, लगभग हाम्रैजस्तो हुन्छ । तर, अरु धेरै प्रकारका सालामान्डरका प्रजाति छन्- मेक्सिकोमा पाइने एक्सोलोटल जीवनभर बच्चाकै रूपमा बाँच्छ । जापान र चीनका जायन्ट सालामान्डर डेढ मिटरसम्म लामा हुन्छन्- संसारकै सबैभन्दा ठूला उभयचर तिनै हुन् । माईपोखरीको थकथके यी सबैको आफन्त हो, र थकथकेले पनि उही क्षमता बोकेको हुन्छ ।
नेपालको इलाम-पाँचथर, दार्जिलिङ र भुटानवरिपरि पाउने सालामान्डरलाई स्थानीयले थकथके भनेर त चिनिरहेका थिए । तर, बर्मा र चाइनातिर पाइने सालामान्डर (Tylototriton verrucosus) र हाम्रो थकथके एउटै होइनन् भनेर दश वर्षअघि मात्रै थाहा भएको हो ।
सन् २०१४ जुलाईमा जनकराज खतिवडा, शान्ता पौडेल र सुवर्ण घिमिरेले माईपोखरीबाट केही नमुना संकलन गरेका थिए । तिनको शरीरको र डीएनएको बनोट तुलना गर्दा यो त सालामान्डर भएको थाहा पाइएको प्रजाति रहेछ भन्ने पुष्टि भयो । सन् २०१५ मा खतिवडाको टोलीले यसलाई Tylototriton himalayanus नाम दिएर संसारलाई चिनायो ।
माईपोखरीको थकथके इलाम-पाँचथर, दार्जिलिङ र पश्चिम भुटानको करिब नौ सयदेखि दुई हजार छ सय मिटरको उचाइबाहेक संसारमा अन्त कतै भेटिँदैन । नेपालमा भेटिने सालामान्डरको एउटै मात्रै प्रजाति पनि यही नै हो ।
भित्तीले उमारेको पुच्छर उही पुच्छर हो त ?
भित्तीको पुच्छर आफैँ चुँडिँदैन, उसले आफैँ चुँडाउँछ । बिरालोले खेद्यो वा कसैले पुच्छर समात्यो भने मांसपेशी खुम्च्याएर आफैँ पुच्छर छोडेर हिँडिदिन्छ । सालामान्डर र भित्तीको फरक यहीँबाट सुरु हुन्छ ।
भित्तीको पुच्छर चुँडिँने ठाउँ जथाभावी हुँदैन । पुच्छरका हड्डीभित्र एउटा कमजोर धर्सो पहिल्यै बनेको हुन्छ । भित्तीको पुच्छर त्यही धर्सोमा मात्रै चुँडिन्छ । रगत बग्ने नसामा पनि बिर्को लगाउन मिल्ने ठाउँहरू हुन्छन् । पुच्छर छुट्टिनेबित्तिकै त्यहाँ बिर्को लाग्छ र रगतको बाटो थुनिदिन्छ, पुच्छर चुँडिँदा रगत बग्दैन ।
छुटेको पुच्छर केही मिनेटसम्म भुईंमा फटफटाइरहन्छ । शरीरबाट छुट्टिएपछि पनि केही समयसम्म त्यसभित्रको नसा र मांसपेशीले काम गरिरहेका हुन्छन् । सिकारीको ध्यान त्यसैले तान्छ, भित्ती उम्किन्छ ।
नयाँ उम्रिएको पुच्छर पहिलेकै पुच्छर होइन, पुच्छरको नक्कल मात्रै हो । पुच्छरभित्रको पुरानो हड्डी फर्किंदैन । हड्डीको सट्टा कार्टिलेजको लामो नली बन्छ । पहिलेजस्तै जोर्नीका गाँठो बन्दैनन्, मेरुदण्डको नसा पूरै फर्किंदैन । बाहिरबाट हेर्दै थाहा हुन्छ- कत्ला फरक रङका हुन्छन्, नयाँ पुच्छर पहिलेभन्दा छोटो पनि हुन्छ । अनि, भित्तीले एकपटक चुँडिएको ठाउँबाट दोस्रोपटक पुच्छर चुँडाउनै सक्दैन । पुच्छर चुँडिने त्यो कमजोर धर्सो हड्डीमा मात्रै हुन्छ । कार्टिलेजको नयाँ नलीमा हुँदैन ।
मैले कथामा पढेको त्यो क्षमता बोकेको एउटै मात्र नेपाली जीव अहिले पनि इलामको माईपोखरीमै छ । हामीले बिर्सिसकेको त्यो निर्देशन अझै पढ्न जान्ने थकथके, बर्खाको पहिलो झरीपछि फुल पार्न पोखरीतिर यसपाली पनि पक्कै झर्यो होला ।
भित्तीले पुच्छरजस्तै देखिने अर्को चीज बनाउँछ; सालामान्डरले कोषहरूको पुरानो बनोट नै फर्काउँछ ।
हामीलाई चोट लाग्यो भने के हुन्छ ?
प्रयोगशालामा आएका सामानहरूको कार्टुन खोल्दै गर्दा एक हप्ताअघि पेपर नाइफले अलिकति छोएको थियो । चोर औँलाको नङमाथि लागेको त्यो चोटबाट रगत त केही मिनेटपछि नै बग्न छोड्यो, तर चोटको दाग अझैसम्म छ ।
मेरो औँलामा चोट लाग्दा सबैभन्दा पहिले शरीरले रगत बग्नबाट रोक्न खोज्यो । त्यसपछि प्रतिरक्षा प्रणालीका कोषहरू आएर चोटवरिपरिका फोहोर र किटाणु सफा गर्न थाले । अनि, फाइब्रोब्लास्ट (Fibroblast) कोषहरू घाउ टाल्न कोलाजेनको धागो बुन्न थाले । केही दिनपछि बुनाइ कसिएर घाउ त पुरियो, तर काटेको ठाउँमा दाग बाँकी नै रह्यो ।
हाम्रो शरीरमा घाउ लाग्दा नयाँ बनेको दाग पहिलेको जस्तो छाला बन्न सक्दैन । पुरानो छालामा कोलाजेनको जालो सबै दिशामा मिलेर फैलिएको हुन्छ- माकुराको जालो वा माछा मार्ने जाल बुनेजस्तै । चोट टालिँदा नयाँ कोलाजेन त थपिन्छ, तर तिनको पहिलेजस्तो मिलाइ हुँदैन । हतार-पटारमा चोट पुर्ने चटारोमा कोलाजेन सबैतिर संरचनाबिनै थुप्रिन्छ । चोट टालिएको दागमा रौँ पलाउँदैनन्, पसिना निस्कँदैन, छुँदा छोएको थाहा पनि हुँदैन ।
शरीरले यो बाटो रोज्नुको कारण छ । पहिलेजस्तै छाला फेरि बनाउन हप्तौँ लाग्छ, त्यति नै दिन संक्रमणको खतरा पनि रहन्छ । तैपनि, सालामान्डरजस्तो चोट पुर्ने क्षमता हामीबाट पूरै हराएको छैन । कलेजोको दुईतिहाइ काटेर निकाल्दा पनि बाँकी भाग बढेर केही हप्तामै पहिलेकै तौलमा त पुग्छ, तर पुरानो आकार भने फर्किंदैन । साना बच्चाको औँलाको टुप्पो नङको फेदभन्दा माथिबाट काटियो भने हड्डी, छाला र नङसहित फेरि आउन सक्छ । आमाको गर्भमा सुरुका महिनामा भ्रूणलाई घाउ लाग्यो भने दागबिनै पुरिन्छ ।
हामीमा सालामान्डरजस्तो क्षमता कहिल्यै थिएन भन्ने होइन । हामी हुर्कंदै जाँदा यो क्षमता क्रमशः हराउँदै गयो, सालामान्डरले जीवनभर बचाएर राखिराख्यो ।
एउटा कोषबाट सिङ्गो शरीर
यौनिक प्रजनन् गर्ने हामीजस्ता सबै प्राणीहरूको सुरुवात एउटा कोषबाट भएको हुन्छ । त्यो कोष दुई हुन्छ, दुईबाट चार, चारबाट आठ । केही दिनमै कोषको सानो डल्लो बन्छ- मोरुला (Morula) । यतिबेलासम्म सबै कोष उस्तै हुन्छन् । कसैलाई आफूले पछि के बन्ने हो भन्ने थाहा भइसकेको हुँदैन, सबै सबै थोक बन्न सक्छन् ।
मोरुलामा थप विभाजन सुरु भएपछि सुरुमा ब्लास्टुला (Blastula) बन्छ । कोषहरू अब के बन्ने भनेर छान्न सुरु गर्छन् । भ्रूणको आकार बढ्दै गर्दा तीनवटा पत्र छुट्टिन्छन् । सबैभन्दा बाहिरी पत्र छाला र स्नायु बन्छ । बीचको पत्र हड्डी, मांसपेशी, मुटु र रगत । भित्री पत्रबाट आन्द्रा, फोक्सो र कलेजो । हातखुट्टा बनाउने कोषहरू बीचको पत्रबाट आउँछन् ।
प्राय: जीवहरूमा कोषहरू के बन्ने भनेर एकपटक छानेपछि फर्कन पाउँदैनन्; मुटुको कोष बनिसकेपछि त्यो फेरि छालाको कोष बन्न सक्दैन ।
सालामान्डरले कसरी नयाँ हातखुट्टा फेरि उमार्छ ?
हाम्रो शरीरमा चोट लाग्यो भने शरीरलाई जतिसक्दो कोलाजेन बनाएर घाउ टाल्ने चटारो हुन्छ, सालामान्डरमा त्यसको ठ्याक्कै उल्टो ।
सालामान्डरको खुट्टा काटियो भने पहिलो केही मिनेटमै छेउबाट छालाका कोषहरू सर्दै आउँछन् । बाह्र घन्टाभित्रै घाउमाथि पातलो पत्र बनिसक्छ । हामीलाई जस्तो रगत जमेर पाप्रा बस्दैन, सुरुदेखि नै छालाजस्तै कोषहरूले छोपिन्छ । काटिएको ठाउँमा नयाँ बनेका कोषहरूले भित्रको सतहमा भएका फाइब्रोब्लास्टमा रसायन पठाइरहन्छन् । मान्छेमा जस्तै कोलाजेनको भताभुङ्ग जालो थुपारेर हतारमा चोट लागेको ठाउँ टाल्ने चटारो सुरु नै हुन पाउँदैन ।
अझै अचम्मको परिवर्तन त चोट लागेको ठाउँ वरिपरिका कोषहरूमा हुन्छ । नजिकका मांसपेशी, हड्डी र कार्टिलेजले आफ्नो पहिचान छोडिदिन्छन् । म मांसपेशी हुँ भन्ने बिर्सन्छन्, र फेरि भ्रूणको अवस्थाका कोषजस्तै बन्छन् । चोट लागेको ठाउँमा त्यसपछि कोषहरू थुप्रिएर सानो डल्लो बन्छ- ब्लास्टेमा (Blastema)। भ्रूण विकाश हुने बेला मात्रै तीन पत्र छुट्टिएपछि फेरि फर्कन नपाउने स्थापित भएको नियमलाई सालामान्डरले यहीँ तोडेको हुन्छ ।
सालामान्डरमा ब्लास्टेमा बन्नका लागि रगतको नसा चाहिन्छ, प्रतिरक्षा प्रणालीका कोषहरू नभए घाउ निको बनाउने प्रयास सुरु नै हुन सक्दैन । रगतका नसालले सालामान्डरलाई चोट लागेपछि पनि पहिलेकै जस्तै रसायनहरू पुर्याइरहन्छ । यही रसायनहरूले चोट लागेको ठाउँमा नयाँ बनेका ब्लास्टेमाका कोषलाई बाँडिइरहन अह्राउँछन् ।
सालामान्डरको हातखुट्टा सँगै नसा पनि काटियो भने यो सबै प्रक्रिया सुरु नै हुन पाउँदैन । ब्लास्टेमा बनेका सबै कोषले सबथोक बनाउन सक्छन् भन्नेचाहिँ हुँदैन- पुराना कोषहरू फेरिएर पहिलेकै काम पहिलेकै ठाउँमा गर्न दोहोर्याउन सक्ने मात्रै हुन्छन् । मांसपेशीबाट आएको कोष फेरि मांसपेशी नै बन्छ, कार्टिलेजबाट आएको कार्टिलेज । छाला छाला नै बन्छ, नसा नसा नै ।
ब्लास्टेमाको डल्लो ठूलो हुँदै गएपछि भ्रूण बेलामा छाडेको कामहरू फेरि दोहोरिन्छ । खुट्टा बनाउने जिनहरू ब्लास्टेमा फेरि खुल्न सुरु गर्छन् । सालामान्डरले नयाँ तरिका पत्ता लगाएको होइन, आफ्नै पुरानो निर्देशन पहिलेजस्तै फेरि पढ्न सुरु गरेको हो । भ्रूण अवस्थामा जस्रै कोषहरू फेरि बाँडिन्छन्- कोही हड्डी बन्छन्, कोही मांसपेशी, कोही नसा, कोही छाला ।
सालामान्डरले नयाँ तरिका पत्ता लगाएको होइन, आफ्नै पुरानो निर्देशन पहिलेजस्तै फेरि पढ्न सुरु गरेको हो ।
अनि, यी कोषलाई आफू खुट्टाको कुन ठाउँमा छु भन्ने पनि थाहा हुन्छ । भ्रूणमा खुट्टा बन्दा हरेक कोषले आफ्नो ठेगाना बोकेको हुन्छ- म काँधबाट कति टाढा छु भन्ने । हुर्केपछि पनि त्यो ठेगाना मेटिँदैन । ब्लास्टेमासँग बन्नुपर्ने खुट्टाको तस्वीर हुँदैन, ठेगाना मात्रै हुन्छ । काटिएको ठाउँका कोषले आफ्नो ठेगाना पढ्छन्, अनि त्योभन्दा तलको जति बाँकी छ त्यति बनाउँछन् । त्यसैले नाडीबाट काटियो भने पन्जा मात्रै बन्छ, काँधबाट काटियो भने काँधदेखि तलको पूरै खुट्टा ।
सालामान्डरलाई नयाँ खुट्टा उम्रन एक-दुई महिना लाग्छ । ठूलो सालामान्डरलाई झन् बढी । नयाँ बनेको खुट्टा सुरुमा पहिलेभन्दा सानो हुन्छ, अनि बिस्तारै बढेर पुरानै आकारको हुन्छ । नयाँ खुट्टा भित्तीको पुच्छरजस्तो नक्कल होइन- हड्डी हड्डीकै ठाउँमा, जोर्नी जोर्नीकै ठाउँमा, औँला उति नै संख्यामा पहिलेजस्तै बन्छ ।
तर, सालामान्डरको यो क्षमताको पनि सीमा हुन्छ। काटिएको ठाउँबाट बाहिरतिर मात्रै नयाँ बन्छ । खुट्टा बन्छ, पुच्छर बन्छ, बङ्गारा बन्छ । एउटै ठाउँबाट पटक-पटक काटिँदै गयो भने नयाँ खुट्टा बिस्तारै पहिलेजस्तो बन्न सक्दैन- औँला कम हुन्छन्, कहिले बाङ्गो हुन्छ । टाउको या मुटुमा चोट लाग्यो भने ठीक पार्न सक्छन्, तर टाउको वा शरीर काटियो भने यिनीहरू पनि मर्छन् ।
हाम्रो शरीर सालामान्डरजस्तो चोट निको पार्न सक्ने किन भएन त ?
हाम्रो शरीरमा तातो रगत हुन्छ, त्यही न्यानोमा ब्याक्टेरिया छिटो बढ्छ । त्यसैले घाउ जति समय खुला राख्यो, जोखिम उति नै बढी । हाम्रो प्रतिरक्षा प्रणाली त्यही हिसाबले बनेको हुन्छ- चोट लाग्नेबित्तिकै सुजन (Inflammation) हुन्छ, त्यसले न्युट्रोफिल र म्याक्रोफेज कोषहरूलाई बोलाउँछ, अनि तिनकै सङ्केत पाएर फाइब्रोब्लास्टले चटारोमा घाउ टाल्न सुरु गर्छ ।
सालामान्डरको रगत चिसो हुन्छ, चिसो पानीमा बस्छ । त्यहाँ ब्याक्टेरिया हाम्रो शरीरमा जति छिटो बढ्न सक्दैनन्, र घाउ केही हप्ता खुला राख्दा पनि त्यति ठूलो जोखिम हुँदैन । सालामान्डरलाई चोट लाग्दा पनि सुरुमा म्याक्रोफेज आउँछन्, तर तिनको हतार घाउ पुर्नेभन्दा पनि सुजन साम्य पार्ने रसायन चुहाउनेतिर हुन्छ । चोट लागेको ठाउँ शान्त रहन्छ र त्यही शान्तिमा ब्लास्टेमा बनेर घाउ पुरिन थाल्छ । प्रयोगशालामा म्याक्रोफेज हटाइदियो भने सालामान्डरमा पनि हाम्रो जस्तै दाग बस्छ ।
बन्द गरिएको त्यो साँचो कहाँ छ ?
सालामान्डरलाई चोट निको पार्ने चाहिने जिनहरू हामीसँग पनि छन् । ब्लास्टेमामा खुलेका जिनहरू सालामान्डरले नयाँ बनाएको होइन । हामी भ्रूणमा हुँदा हाम्रो हात बनाउने बेला तिनै जिनले काम गरेका थिए । हाम्रो शरीरको विकास हुँदै जाँदा ती बिस्तारै बन्द भएका मात्रै हुन् ।
हाम्रो शरीरका हरेक कोषमा उही डीएनए हुन्छ । छालाको कोषमा पनि मुटु बनाउने जिन हुन्छ, मुटुको कोषमा पनि छाला बनाउने । फरक कुन जिन बोकेको छ भन्नेमा होइन, कुन खुला छ र कुन बन्द छ भन्नेमा हुन्छ ।
जिनहरू बन्द गर्ने काम क्रोमोजोमको डीएनएमाथि लगाइने रासायनिक चिनोले गर्छ । मिथाइल (Methyl) को सानो अणु क्रोमोजोममा टाँसिएको आधारमा कुन जिन बन्द र कुन खुला भन्ने थाहा हुन्छ । मिथाइल धेरै भएको भागको डीएनए हिस्टोन (Histone) भनिने प्रोटिनको फिर्कोमा कस्सिएर बेरिएको हुन्छ, जिन पढ्ने मेसिन त्यहाँ पुग्नै पाउँदैन । क्रोमोजोममा मिथाइलका अणुहरू थोरै जोडिएर खुला भएको ठाउँको जिनबाट मात्रै आरएनए र प्रोटिन बन्न सक्छ ।
हामीमा, एकपटक शरीर बनिसकेपछि भ्रूणबेलाका जिनहरू त्यसैगरी बन्द गरिएका हुन्छन् । मिथाइलको चिनो लाग्छ, डीएनए कस्सिएर बेरिन्छ, अनि कोषले आफ्नो काम मात्रै गर्न थाल्छ । जिनहरू एकपटक बन्द भएपछि, त्यो चिनोसहित कोषविभाजन भएर अर्को कोषमा सर्दै जान्छ- छाला छालै बन्छ, मुटु मुटु नै ।
हामीमा जिनहरूलाई लगाएको यही भोटे ताल्चा चोट लागेको बेला खुल्दैन । हाम्रो घाउमा पनि जिन खुल्छन्, तर ती कोलाजेन बनाउने जिन हुन्, हात बनाउने होइनन् ।
सालामान्डरमा यही चिनो चोट लागेपछि खुल्छ । घाउका कोषमा मिथाइल हटाउने प्रोटिन सक्रिय हुन्छ, कस्सिएको डीएनए खुल्न थाल्छ, अनि भ्रूण बन्द भएका बेला जिन फेरि पढिन थाल्छन् । कोषले आफ्नो पहिचान छोड्नु भनेको यही हो- डीएनए फेरिएको होइन, त्यसमाथिको ताल्चा खुलेको हो ।
डीएनए फेरिएको होइन, त्यसमाथिको ताल्चा खुलेको हो ।
डीएनए दुवैमा उही हो; फरक कुन भाग पढ्न पाइन्छ भन्नेमा छ । यही ताल्चाको कुरा गर्दा सालामान्डरको जिनोम पनि हेर्नुपर्ने हुन्छ ।
सालामान्डरको डीएनए हाम्रोभन्दा दस गुणा ठूलो हुन्छ । हामीमा तीन अर्ब न्युक्लियोटाइड छन्, मेक्सीकोको सालामान्डर, एक्सोलोटलमा बत्तीस अर्ब । क्रोमोजोमको संख्या भने हाम्रोभन्दा कम- हाम्रोमा ४६, उनीहरूको २८ । एक्सोलोटलका २८ क्रोमोजोम हाम्रोभन्दा धेरै ठूला हुन्छन्, तर जिनको संख्या हाम्रैजस्तै । थपिएका सबै डीएनए जिन-जिनको बीचमा हुन्छ, दोहोरिने अक्षरका लामा टुक्रा भएर बसेको हुन्छन् । कुन जिन कहिले खोल्ने भन्ने निर्णय गर्ने र नियन्त्रण जिनहरूबीचमा भएका डीएनएले गेरेका हुन् ।
एक्सोलोटलको जिनोम हाम्रोभन्दा दश गुणा ठूलो छ, तर जिनको संख्या उति नै हो । तर, यत्रो डीएनए बोकेर पनि सालामान्डरसँग हामीसँग नभएको कुनै जादुको जिन छैन । फरक यति हो, ठूलो जिनोम बोक्दा कोष ठूलो हुनुपर्छ, अनि कोष ठूलो भएपछि विभाजन ढिलो हुन्छ । सालामान्डरलाई नयाँ खुट्टा उमार्न महिनौँ लाग्नुको एउटा कारण यही हो ।
सालामान्डरमा कोष विभाजन कम हुने भएर, उनीहरूमा क्यान्सरको खतरा तुलनात्मक रूपमा कम हुन्छ । त्यसैले, सालामान्डरले जिनहरूलाई साँचो नलगाई राख्न सक्छन्, हाम्रोमा क्यान्सरको खतरा टाल्न ताल्चा लगाइएको हुन्छ । ब्लास्टेमामा खुल्ने जिन दुवैसँग छन्, फरक त ती कहिले खुल्छन् र कहिले बन्द हुन्छन् भन्नेमा छ ।
अनि, अहिले वैज्ञानिकहरू के गरिरहेका छन् त ?
एक्सोलोटलको पूरै जिनोम सन् २०१८ मा मात्रै पढेर सकियो । त्यसपछि ब्लास्टेमाका कोषले आफ्नो ठेगाना कसरी सम्झन्छन् भन्ने थाहा भयो- काँधतिरका कोषमा एउटा प्रोटिन बाक्लो हुँदो रहेछ, औँलातिरकामा पातलो। प्रयोगशालामा त्यो प्रोटिन बढाइदियो भने पन्जा मात्रै उमार्न लागेको ब्लास्टेमाले पूरै पाखुरा उमार्न थाल्छ ।
सालामान्डरको क्षमताको प्रयोग मुसामाथि पनि भइरहेको छ । औँलाको टुप्पो काटेर त्यहाँ सालामान्डरको जस्तै प्रोटिन बढाइदियो भने दाग बस्नुको साटो हड्डी र नङसहित केही भाग फेरि आएको छ ।
तर, मानिसमा सालामान्डरको क्षमता सार्ने सम्भावनाबारे हामी अड्किएर सोच्नुपर्छ । जुन सुजन रोकेर दाग हटाइन्छ, त्यसैले संक्रमण पनि रोकिरहेको हुन्छ । जुन ताल्चा खोलेर कोषलाई पहिचान छाड्न लगाइन्छ, त्यही ताल्चा खुला रह्यो भने कोष जथाभावी बाँडिएर क्यान्सर बन्न थाल्छ ।
त्यसैले अहिलेको काम पूरै हात उमार्नेतिर छैन । डाइबिटिजका बिरामीको ननिको हुने घाउ दागबिनै पुर्ने, जलेको छालामा पसिना ग्रन्थी फर्काउने, हृदयघात हुँदा मुटुमा बनेको दागलाई मांसपेशीमा बदल्ने- यस्तै स-साना काम भइरहेका छन् ।
अनि, त्यो कथा
आज मैले त्यो कथा फेरि सम्झिँदा, स्पाइडरमेन कमिक्सको कथालाई हिन्दीमा लेखेको हो जस्तो लाग्छ । स्पाइडरम्यानका डा. कर्ट कोनर्सले खोजेको पनि यही थियो । दुर्घटनामा एउटा हात गुमाएका उनले छेपाराको जिन आफूमाथि प्रयोग गरे । हात त पलायो । तर, छेपाराको जिनले छेपाराले जति नै दिन्छ- भित्तीले पुच्छरको नक्कल बनाएझैँ कोनर्सले हातको नक्कल पाए, अनि आफैँ लिजार्ड बने । उनलाई चाहिएको सालामान्डर थियो, रोजेको छेपारो ।
उनलाई चाहिएको सालामान्डर थियो, रोजेको छेपारो ।
कक्षा ६ को त्यो छुट्टीमा आल्मारीबाट पत्रिका झिक्दा मलाई थाहा थिएन, चोट कसरी निको हुन्छ भन्ने कुरा नै पढ्ने विषय बनाएर बस्नेछु भनेर । त्यो पत्रिका अब कहाँ छ, थाहा छैन ।
तर, त्यो जीव भने किताबभित्रकै रहेनछ । मैले कथामा पढेको त्यो क्षमता बोकेको एउटै मात्र नेपाली जीव अहिले पनि इलामको माईपोखरीमै छ । हामीले बिर्सिसकेको त्यो निर्देशन अझै पढ्न जान्ने थकथके, बर्खाको पहिलो झरीपछि फुल पार्न पोखरीतिर यसपाली पनि पक्कै झर्यो होला ।
Comments
Comments
Post a Comment